Tuesday, August 22, 2017

सगरमाथा आरोहणमा बढ्दो उत्साह, २९ देशका २८० जनाले लिए आरोहण अनुमति

प्रकाशित मिति: 2016/04/29

वैशाख १७, काठमाडौं ।  गत वर्षको भूकम्प र त्यस अघिको हिमपहिराका कारण रोकिएको सगरमाथा आरोहणमा यसपटक उत्साहजनक रुचि देखिएको छ । पर्यटन विभागका अनुसार यस वर्ष एकजना नेपालीसहित २ सय ८० जनाले सर्वोच्च शिखर चुम्ने जमर्कोमा लागेका छन् ।  भूकम्प र नाकाबन्दीको प्रभावले यस वर्ष केही खस्किएको पर्यटन उद्योगमा सगरमाथा आरोहणका लागि यो  संख्यामा अनुमति लिनुलाई पर्यटन विभागले ‘उत्साहजनक सहभागिताको रुपमा लिएको छ । 
विभागको पर्वतारोहण शाखाका अनुसार यस वर्ष अनुमति लिनेमा नेपालसहित २९ मुलुकका नागरिक छन् । यीमध्ये भारतबाट ६१, संयुक्त राज्य अमेरिकाबाट ५६, बेलायतबाट २६, चीनबाट २०, अस्ट्रेलियाबाट १५, यूएईबाट १२, जापानबाट १० जनाले अनुमति लिएका छन् । यी मुलुकबाहेक पेरु, ब्राजिल, अस्ट्रिया, मोरक्को, सोलभाका, दक्षिण अफ्रिकालगायत मुलुकका नागरिक पनि यसपटक सगरमाथा आरोहणका लागि नेपाल आइसकेका छन् ।  झापाका अनीश लुइँटेल नेपाली आरोहीका रूपमा अनुमति लिने एक जना मात्रै नेपाली हुन् । विभागले  चैत १३ गतेदेखि अनुमति लिने क्रम सुरु गरेको थियो । 
सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग ११ लाख रुपैयाँ सलामी दस्तुर लिन्छ । नेपालीले ७५ हजार रुपैयाँ मात्रै तिर्नुपर्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० देखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् । सरकारले हरेक वर्ष प्रतिआरोहण दल एउटा सरकारी अधिकृतलाई सम्पर्क अधिकृतका रूपमा खटाउने गर्छ । 
त्यस्तै सगरमाथापछि आरोहणका लागि ल्होत्से हिमालका लागि ९, मकालुका लागि ५, नुप्सेका लागि ५, मनास्लुका लागि ३, धौलागिरिका लागि ३, आमडब्लमका लागि ३, अन्नपूर्ण (एक) का लागि २ जनाले अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथासहित यो सिजनमा १८ वटा हिमालमा ७६ वटा आरोहण दल जाँदै छन् । अघिल्लो वर्ष यी सबै हिमालका लागि १ सय ३ वटा आरोहण दलले अनुमति लिएका थिए तर भूकम्पका कारण कुनै पनि हिमालमा आरोहण हुन सकेन ।

 

तपाईंको बिचार