Saturday, November 18, 2017

पर्यटकीय क्षेत्र पञ्चासेमा भीषण आगलागी

प्रकाशित मिति: 2016/04/30

वैशाख १८,काठमाडौं । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ। 
पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा गत बिहिबार रातिदेखि भीषण आगलागी भएको हो। उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा पर्ने खतरा बढेको छ। 
 
पाँच हजार ५०० हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो। डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका वन, १५० प्रकारका औषधिजन्य बोट, ११३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, ५८९ प्रकारका फूल फुल्ने वनस्पतिलगायतका अमूल्य वनस्पति र जङ्गली जनावर तथा चराचुरुङ्गीसमेत जोखीममा परेका छन्। 
 
आगो निभाउनका लागि पर्वतस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र डिमुवा प्रहरी चौकीका प्रहरीको टोली निरन्तर खटिएको भए पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 
 
नजिकमा पानीको स्रोत नभएको र भएका मूलसमेत खडेरीका कारण सुकेकाले आगो नियन्त्रणमा लिन समस्या सिर्जना भएको प्रहरीले जनाएको छ। 
 
आगो निभाउन गएको राम्जाका स्थानीय रविन गुरुङ गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेकाले पोखरा मणिपाल अस्पतालमा शुक्रबार राति शल्यक्रिया सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 
 
त्यस्तै जिल्लाको सबैभन्दा उचाइमा रहेको कालान्जर पर्वतको नामले परिचित हम्पाल लेकको फेदीमा समेत आगलागी भएको छ। गएरातिदेखि आगलागी भएको स्थानीयले जानकारी दिएका छन्। क्याङ गाविस–९ देखि सल्किएको आगो माथिसम्मै फैलिएको स्थानीय नरसिंह पुनले जानकारी दिए। 
 
स्थानीयको पहलमा आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रण बाहिर गएको उनले बताए। यता भँगरा गाविसमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 
 
यस वर्ष पर्वतका ५० भन्दाभन्दा बढी क्षेत्रमा आगलागी भएको आगलागीका कारण खुल्न नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष किशोर सापकोटाले जानकारी दिए। 

 

तपाईंको बिचार