Tuesday, September 19, 2017

द्रुत गतिमा निर्माण हुदै सिस्ने हिमाल पदमार्ग

प्रकाशित मिति: 2016/04/30

वैशाख १८, रुकुम । रुकुममा अवस्थित प्रसिद्ध सिस्ने हिमाल पुग्ने पदमार्ग निमार्ण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । जसअन्तरगत आगामी आ.व २०७३÷७४ मा प्वाङ गाविसको लैपादेखि गुप्ता दहसम्म पर्यटन पदमार्ग निर्माण हुनेछ । रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्तादह–पाथीभरा हुँदै सिस्ने हिमाल बेस क्याम्पसम्मको पर्यटन पदमार्ग निर्माण गर्न लागिएको हो ।

सदरमुकामदेखि प्वाङ गाविसको लैपासम्मको बाटो पहिले नै निर्माण भएको र लैपादेखि सिस्ने हिमाल बेस क्याम्पसम्मको बाटो जोखिम र जीर्ण भएकाले पदमार्ग निर्माण गर्न लागिएको स्थानीय बासिन्दा पर्शुराम खड्काले बताए । अर्काे आवमा कुनै निकायबाट सहयोग पाए सिस्ने हिमालको बेस क्याम्पसम्म पर्यटन पदमार्ग निर्माण कार्य पूरा गर्न सकिने उनको भनाइ थियो । काञ्जिरोवा हिमशृङ्खलाअन्तर्गत पर्ने रुकुमको सिस्ने हिमाल समुद्री सतहदेखि ६ हजार ५ सय ५१ मिटर उचाइमा अवस्थित छ । कडा चट्टानबाट निर्मित सिस्ने हिमाल आरोहण गर्न निक्कै गाह्रो हुने आरोहीले बताउँछन् ।

सिस्ने हिमालको बेस क्याम्पसम्म जाने बाटो निर्माणका साथै बाटोमा घरबास सञ्चालन, पर्यटकलाई पर्याप्त सुरक्षाको व्यवस्था नहुनुलगायत पर्वतारोहीको मुख्य समस्या हो । यो पदमार्ग निर्माण भएमा सिस्ने पदमार्गअन्तर्गत पर्ने स्यार्पुताल, कमलताल, सानोभेरी, तातोपानी कुण्डलगायतका थुप्रै पर्यटकीय स्थलको पहिचान, विकास र प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ । भौगोलिक रुपमा निकै कठिन सिस्ने हिमालको विसं २०७० जेठमा पर्वतारोही मनबहादुर खत्री नेतृत्वको आठ सदस्यीय दलले सफल आरोहण गरेको थियो । 

तपाईंको बिचार