Friday, June 23, 2017  |    

अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता

प्रकाशित मिति: 2016/05/01

बैशाख १९, काठमाडौं ।  जेठको पहिलो साता नेपालमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा चीनका विभिन्न प्रान्तबाट ठूलो संख्यामा सहभागिता हुने भएको छ । सम्मेलनलाई विशेष महत्व दिंदै प्रान्तीय सरकारले आफ्ना नागरिकलाई सहभागी जनाउन आह्वान पनि गरेको छ ।

सम्मेलनकै लागि पहिलो चिनियाँ भिक्षु सुआन चाङ्गको मूर्ति लुम्बिनीमा पठाइसकिएको छ । राजधानी बेइजिङ्ग, पुरानो राजधानी सियान सहरको सान्सी, हेनान र सिचुवान प्रान्तबाट सहभागी बढाउन प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको सियान विश्वविद्यालयले जानकारी दिएको छ ।
सम्मेलनका लागि एक सय ५० जनाको प्रतिनिधित्व चीनबाटै गराउने तयारी भइरहेको छ ।

यो वर्ष बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्रा्ष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा सरकारले गरेको हो । जेठ ८ गते बुद्ध जयन्तीका सन्दर्भमा जेठ ६ गतेदेखि ३ दिनसम्म काठमाडौं र लुम्बिनीमा विभिन्न कार्यक्रम गरी सम्मेलन हुन लागेको हो ।  

संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मेलनलाई सफल बनाउन भारत, चीन, श्रीलंका, थाइल्याण्ड, जापानसहितका मुलुकबाट राजनीतिक एवं बौद्ध समुदायको प्रतिनिधित्वका लागि लिखित निम्ता गरेका छन् ।

बुद्धको जन्मभूमि नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन र धार्मिक पर्यटन मार्फत मुलुकको आर्यआर्जन बढाउन सम्मेलनले महत्वपूर्ण योगदान दिने पोखरेलले बताए । ‘धार्मिक पर्यटन बढाउनका लागि बौद्ध सम्मेलन कोशेढुंगा हुनेछ’, मन्त्री पोखरेलले भने ।     
प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना चीन भ्रमणका क्रममा सिचुवान र सान्सी प्रान्त समेत पुगी बौद्ध सम्मेलनमा सहभागीका लागि स्थानीय सरकारलाई समेत आग्रह गरेका थिए । ‘त्यतिबेला सान्सी प्रदेशका गर्भनरले प्रधानमन्त्री ओलीकै अगाडि बौद्ध सम्मेलनमा सहभागी हुन आफ्ना नागरिकलाई आग्रह गरेका थिए ।  
सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको छ । अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी  सरकारले दिएको छ ।

 

तपाईंको बिचार