Wednesday, April 26, 2017  |    

ललितपुरमा पर्यटकीय शुल्क बृद्धिको तयारी

प्रकाशित मिति: 2016/05/01

वैशाख १९, ललितपुर ।  पर्यटकलाई आधारभूत सुविधा दिन नसके पनि ललितपुर उपमहानगरपालिकाले पर्यटकीय शुल्क बढाउने भएको छ । सार्क मुलुकका पर्यटकका लागि १ सय रुपैयाँबाट बढाएर २ सय ५० र अन्य राष्ट्रका लागि ५ सयबाट ७ सय रुपैयाँ शुल्क बनाएको हो ।

उपमहानगरपालिकाले शुल्कवृद्धिसँगै पर्यटकलाई दिनुपर्ने सेवासुविधामा पनि बृद्धि गरिने बताएको छ । शुल्कवृद्धिले पर्यटकको संख्यामा पनि कमी नआउने उपमहानगरपालिकाको दाबी छ ।

तर पाटनवासीले भने शुल्क वृद्धि गर्न लागिएकोमा विरोध गरेका छन् । शुल्क बढाउनुअघि पर्यटकलाई उपलब्ध गराउनुपर्ने शौचालयलगायतका न्यूनतम सुविधातर्फ ध्यान दिन पनि उपमहानगरलाई आग्रह गरेका छन् ।
यद्यपि उपमहानगरका निमित्त प्रमुख प्रवीण श्रेष्ठले पर्यकीय शुल्क वृद्धि हुने बारेमा आफूलाई जानकारी नभएको बताए ।
उपमहानगरले पाटन घुम्न आउने पर्यटकलाई शौचालयको व्यवस्था गर्न सकेको छैन । जापान सरकारले मंगलबजारमा निर्माण गरिदिएको पर्यटकीय शौचालय १२ वर्षदेखि बन्द छ ।

दुई तलामध्ये तल्लो तलामा सर्वसाधारण र माथिल्लो तलामा पर्यटकका लागि व्यवस्था मिलाइएको थियो । हाल तल्लो तलाको शौचालय मात्र सञ्चालनमा रहेपनि पानी र बिजुली बत्तीको अभाव छ । वरिपरि दुर्गन्ध फैलिएको छ । केही विदेशी पर्यटक सर्वसाधारणको शौचालयमा जान्छन् भने अधिकांश होटल, रेस्टुरेन्टको शौचालयमा जान बाध्य छन् ।
 
पाटन संग्रहालयले पनि संग्रहालय घुम्न आउने पर्यटकलाई शौचालयको व्यवस्था मिलाउन सकेको छैन ।

संग्रहालयस्थित केशवनारायण चोकको शौचालय बन्द छ भने नासल चोक र भण्डार खाल बगैंचास्थित शौचालयपनि व्यवस्थित छैन । संग्रहालयले पर्यटकीय स्तरको शौचालय निर्माण गर्ने भनेको वर्षौं बितिसकेको छ ।  
संग्रहालय प्रवेश गरेबापत भने छुट्टै शूल्क लिने गरेको छ । त्यस्तै पर्यटकले गोल्डेन टेम्पल र महाबौद्ध घुम्न छुट्टै शुल्क तिर्नुपर्छ ।

पर्यटकलाई पाटनको कला संस्कृति सम्पदाको बारेमा जानकारी दिन स्थापना गरिएका २ वटा पर्यटकीय सूचना केन्द्र पनि वर्षौदेखि कर्मचारीविहीन छन् ।

केन्द्रमा पाटन क्षेत्र, दरबार स्क्वयार, पर्यटकीय रूट लगायतका बारेमा पूर्ण जानकारी दिने ब्रोसर तथा पम्प्लेटको समेत राम्रो व्यवस्था छैन । सम्पदाको बारेमा अध्ययन अनुसन्धान गर्न चाहने पर्यटक महँगो पैसा तिरर गाइड भाडामा लिन्छन् भने, पर्यटकीय सूचना केन्द्रमा प्रहरी बस्ने गरेका छन् ।
 पर्यटकबाट मात्रै वार्षिक ५ करोड रुपैयाँ राजस्व उठाउने गरेको उपमहानगरसंग केन्द्रमा कर्मचारी व्यवस्था नहुनुको जवाफ छैन् ।

त्यस्तै पर्यटकलाई पाटनको कला संस्कृति बारेमा जानकारी दिने ऐतिहासिक महत्त्व बोकेका बहुमूल्य ग्रन्थहरू कुहिने अवस्थमा छन् । सार्वजनिक प्रदर्शनमा राख्नुपर्ने यी ग्रन्थ महानगरको सानो कोठामा थन्क्याइएका छन् ।

पर्यकीय बसपार्कको व्यवस्था छैन । ग्वार्को बालकुमारीमा निर्माण गरिने भनिएको पर्यटकीय बसपार्क अलपत्रमा अवस्थामा छ । पर्यटकीय रूट पनि पहिचान गर्न सकिएको छैन । पर्यटकहरू जोखिम मोलेर घुम्न बाध्य छन् ।

दरबार स्क्वयारस्थित मठमन्दिरमा चोरी भएका मूर्तिहरू हालसम्म पनि प्रतिस्थापन गरिएका छैनन् । पर्यटकको मुख्य आर्कषण बन्दै आएको सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको एउटै ढुंगाको भनिएको कृष्ण मन्दिर पनि जीर्ण भइसकेको छ ।

वर्षायाममा सातदोबाटो, बटुकभैरव, लगनखेल, कुमारीपाटी, मानभवनलगायत क्षेत्रको ढल दरबार क्षेत्रमा बग्ने गरेको छ । दरवार क्षेत्रमा फोहोर मैलाको उचित व्यवस्थापन पनि हुन सकेको छैन ।

पर्यटकलाई आकर्षित गर्न ऐतिहासिक महत्त्वका मूर्तिहरू संकलन गरी पुरातात्त्विक संग्रहालय बनाउने भनिएको भण्डारखाल बगैंचा लथालिंग अवस्थामा छ ।

बगैंचा झारपातले भरिएको छ । बेलुका घुम्न चाहने पर्यटकका लागि बत्तीको व्यवस्था छैन । भएका सोलार बत्तीपनि बिग्रिएका छन् ।

अधिकास पर्यटक ललितपुरमा हस्तकला, धातुकला, प्रस्तरकला, मूर्तिकला, ताम्रकलाको जिवित संग्रहालय हेर्न आउने गरेका छन् । यी कला विस्तारै लोप भएपनि जगेर्नामा कसैले चासो दिएको छैन ।

चीन सरकारले पाटन घुम्न आउने अशक्त, अपांग पर्यटकका लागि आराम गर्न भनी निर्माण गरिएको उपमहानगरको भवनसँगैको पार्क पनि लथालिंग आवस्थामा छ । पार्क अहिले भुस्याहा कुकुरको बासस्थान बनेको छ ।

 

तपाईंको बिचार