Wednesday, September 20, 2017

पर्यटक आगमन बढ्दै, ७० प्रतिशत होटलका कोठा भरिए

प्रकाशित मिति: 2016/05/02

वैशाख२०, काठमाडौं । भूकम्प गएको एक बर्ष यता होटल बुकिङ दर सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । होटेल संघ नेपाल (हान)का अनुसार अप्रील महिनामा होटल बुकिङ दर एक बर्षयताकै उच्च बिन्दु ७० प्रतिशतसम्म पुगेको हो । हानका अनुसार पर्यटकीय मौसम भएकाले यो दर बढेको हो  । सन २०१५मा १५ प्रतिशत भन्दा कममा झरेको बुकिङ् दरमा बिस्तारै सुधार हुदै गएको होटल व्यवसायी बताउछन् । पछिल्लो समय तारे होटलका ६५ देखि ७० प्रतिशत कोठाहरु भरिएको हानले जनाएको छ ।


वसन्त ऋतृ नेपालमा पर्वतारोहणको मौसम भएकाले यो मौसममा खर्चालु पर्यटक धेरै आउने गर्छन्  । पर्यटन विभागको तथ्याङ्क अनुसार यस बर्ष करिब ३ दर्जन आरोहण दलका झण्डै तिन सय पर्यटक सगरमाथा आरोहणको तयारीमा रहेका छन् ।
यसका साथै नेपालका मुख्य पदमार्गमा पनि पर्यटकको संख्यामा बृद्धि भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बाट टिम्स कार्ड लिएर पदयात्रामा जानेहरुको संख्यामा उत्साहाजनक रहेको ती  संस्थाहरुले यसअघिनै बताइसकेका छन् ।  विदेशी वायुसेवा कम्पनिहरुले उडान संख्या बढाउनुले पनि पर्यटकको आगमनमा बृद्धि भएको व्यवसायीहरु बताउछन ।
त्यस्तै आगामी मौसमका लागि अग्रीम बुकिङसमेत सकारात्मक रहेको हानले बताएको छ । यसैबिच अमेरिका, बेलायत तथा युरोपेली युनियनबाट नेपालको पर्यटनका बारेमा फैलिएको नकारात्मक सन्देश कमहुनु र नेपामा आन्दोलका गतिविधि रोकिनुले पनि अग्रिम बुकिङमा सकारात्मक भुमिका निर्वाह गरेको हुनसक्नने हानको धारणा रहेको छ । पर्यटकको आगमनलाई यहि रुपमा कायम गर्न  सके २०१७ सम्ममा पर्यटन क्षेत्र पुरानै अवस्थामा र्फकिने अपेक्षा व्यवसायीले गरेका छन् ।

 

तपाईंको बिचार