Monday, December 18, 2017

खप्तडका तालहरू सुक्दै

प्रकाशित मिति: 2016/05/02

वैशाख २०, काठमाडौं । केही वर्षअघि सम्म खप्तडका पाटनमा वैशाख–जेठसम्मै हिउँ देख्न पाइन्थ्यो । ३र४ वर्षयता हिउँ पर्ने क्रम घटेपछि फागुन–चैतमै हिउँ पग्लिन थालेको छ । जलवायु परिवर्तनले जैविक विविधतायुक्त तालहरु सुक्न थालेका छन् ।


खप्तड क्षेत्रको मुख्य आकर्षण मानिने खापर दहमा पानीको मात्रा निकै कम छ । करिब डेढ हेक्टरमा फैलिएको तालमा आधाभन्दा बढी पानी सुकेको छ । ‘खप्तड क्षेत्रमा रहेका सिमसारहरूको ६० प्रतिशत भन्दा बढी पानी घटिसकेको छ,’ खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने, ‘स–साना हिमतालहरू त फागुन–चैतमै सुकिसके ।’

गत वर्ष वैशाख पहिलो सातासम्म खापर दहमा हिउँ जमेकै थियो । होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक खड्काले भने, ‘तर यो वर्ष हिउँ त पग्लियो नै, पानीसमेत सुक्न थालेको छ ।’ खप्तड क्षेत्रको सबैभन्दा बढी पानी हुने ताल खापर दह नै हो । करिब ८ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइमा फैलिएको यो तालको गहिराइ ६ फिटसम्म छ ।

खप्तड क्षेत्रमा खोलानाला र तालहरूसहित १३ वटा सिमसार क्षेत्रहरू छन् । अधिकांशमा पानी निकै कम छ । ‘विगतका वर्षहरूमा ६ महिनासम्म हिउँ पर्ने पाटनहरूमा समेत यो वर्ष तीन महिना पनि हिउँ रहेन,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘ताल तथा खोलाहरू रिचार्ज हुनै पाएनन् ।’ मुख्य हिउँ जम्ने सिजनबाहेक कुनै वर्ष त वैशाख–जेठमा समेत हिउँ पर्ने गरेको बताए ।

यो वर्ष खडेरीले तालहरू सुक्न थालेको स्थानीयवासी बताउँछन् । केही वर्षअघिसम्म चैतदेखि जेठसम्म खप्तड घुम्न पुग्नेहरू बाटोभरि हिउँ पन्छाएर जाने गरेको अछामको खप्तड गाविसका टंकबहादुर खडायत बताउँछन् । ‘४ वर्षअघि पनि भैंसी चराउन ल्याउँदा जताततै हिउँ नै हुन्थ्यो,’ उनले भने, ‘अब हिउँदका २ महिना मात्रै देख्न सकिन्छ ।’

खप्तड क्षेत्रका ठूला र साना ताल तथा सिमसार क्षेत्रको हालसम्म विस्तृत अध्ययन तथा अनुसन्धान भइसकेको छैन । निकुञ्ज प्रशासन र दशकअघि गठन भएको खप्तड पर्यटन विकास समितिले पनि यो विषयमा हालसम्म कुनै काम गरेको छैन । ‘खप्तड क्षेत्रमा सबै गरी ६र७ वटा तालहरू होलान’ विकास समितिका कार्यकारी अधिकृत यमराज कुँवरले भने, ‘अधिकांश हिउँ पग्लेर बनेकाले पछिल्ला वर्षहरूमा हिउँ पर्ने क्रम कम हुँदा चाँडै सुक्न थालेका छन् ।’

पर्यटन विकास समितिले यो वर्ष विज्ञहरू ल्याएर यहाँका ताल तथा सिमसार क्षेत्रको पहिचान र अध्ययन गर्ने तयारी गरिरहेको कुँवरले बताए । ‘वनस्पति, पर्यटकीय स्थल र धार्मिक क्षेत्रहरूको पनि अध्ययन गर्ने तयारी भएको छ,’ उनले भने, ‘सिमसार क्षेत्रमा पानी घटेको बारेमा पनि आवश्यक अनुसन्धान गरिनेछ ।’

खप्तड क्षेत्रमा बलौटे माटो भएकाले पानी छिट्टै सुक्ने गर्छ । विगतमा पानी घट्ने र हिउँ पर्ने बराबर नै हुन्थ्यो । तर, केही वर्षयता सुक्ने क्रम बढेको र हिउ पर्ने क्रम घटेका कारण वन्यजन्तुहरूलाई समेत पिउने पानीको समस्या हुन सक्ने देखिन्छ । ‘केही दिनभित्रै वर्षा भएन भने यहाँ रहेका धेरै पानीका मुहानहरू सुक्न सक्छन प्रमुख संरक्षण अधिकृत खतिवडाले भने ।  

 

 

तपाईंको बिचार