Wednesday, September 20, 2017

नेपालका उत्कृष्ट १० होमस्टे

प्रकाशित मिति: 2016/05/03

वैशाख २१,काठमाडौं ।  स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । आन्तरिक पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन बोर्डले २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको छ । त्यसैले होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा सस्तो, रमाइलो र ज्ञानबर्धक हुन सक्छ । प्रस्तुत छन देशभरिका उत्कृष्ट १० होमस्टे ।

  • सिरुबारी

स्याङजा जिल्ला पञ्चमुल गाविस– ४ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ। जहाँ गुरुङका ३९ घर छन्। १७ घरमा होमस्टे सुविधा छ।

होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाट भएको हो। नेपालमा होमस्टे सृुविधासहित गाउँ पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन्।  २०५४ असोजमा सिरुबारीलाई पर्यटन गाउँ घोषणा गरियो।

गुरुङ जीवनशैली, संस्कृति र हिमाली सौन्दर्य सिरुबारीका बिशेषता हुन्। सिरुबारीमा दुई राते प्याकेजको दुई हजार रुपैयाँ पर्छ।

कसरी पुग्ने  काठमाडौं–पोखरा २०० किमि। काठमाडौंबाट टुरिष्ट बस, मिनिबस वा हवाई यात्रा गर्न सकिन्छ। पोखराबाट सिरुबारीसम्म गाडि चल्छ। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि छ। पोखराको पृथ्वीचोकबाट बस छुट्छन्। तिनले ५ घन्टामा पुर्याोउँछन्।

 

  • काउलेपानी

लमजुङको काउलेपानी इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो। बेसीसहरबाट डेढ घन्टा उकालो चढेपछि काउलेपानी पुगिन्छ। गाउँका १४ घरमा होमस्टे सुविधा छ।  
गाउँको फेदमा राजा यशोब्रह्म शाहले बनाएको गाउँसहर दरबार छ । काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ। त्यहाँबाट माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म डेढ दर्जनभन्दा बढी हिउँचुली देखिन्छ।

बेसीसहर नगरपालिका–६ मा पर्ने काउलेपानीमा नेपाल भ्रमण वर्ष २०११ मा होमस्टे सुरु गरिएको थियो। नेपालीका लागि एकराते प्याकेजमा स्वागत, डिनर, बास र ब्रेकफास्ट सुविधा हुन्छ। प्याकेज मूल्य ९९० रुपैयाँ।

कसरी पुग्ने  काठमाडौं–बेसीसहर बसमा। बेसीसहरबाट दक्षिण–पश्चिम डेढ घन्टा उकालो चढे काउलेपानी।  
 

  • नाम्जे

धनकुटाको नाम्जे गाउँलाई अमेरिकी समाचार संस्था सिएनएनले केही वर्ष अघि विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा राखेको थियो ।

नाम्जे गाउँका १९ घरमा होमस्टे गराइन्छ। खान र बस्न सस्तो छ। बासको १५० रुपैयाँ, सादा खानाको ९०, तोङ्बा सय, खाजाको ५० रुपैयाँ पर्छ।
कसरी पुग्ने  काठमाडौं–धरान ५५० किमि। धरान–नाम्जे २१ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा।  

  • चित्लाङ

मकवानपुरको स्यानो उपत्यका हो चित्लाङ। काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर)। भञ्ज्याङ मुन्तिर ६ किलोमिटरमा चित्लाङ गाउँ छ।  

नेपाल पर्यटन वर्ष २०११ देखि गाउँमा होमस्टे सुरु गरिएको हो। नेवार, ठकुरी र क्षत्रीका ६ घरमा होमस्टे सुविधा छ। होमस्टेमा एक राते प्याकेजको १२ सय रुपैयाँ। गाउँमा केही होटल पनि छन्।

गाउँमा हेर्ने कुरा चिज धेरै छन्। सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ।  
कसरी पुग्ने  काठमाडौंको थानकोट पार्कपछाडि गोदामबाट जीप चल्छन्। त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ। बाटो कच्ची छ। गोदाम–चित्लाङ १३ किमि।

  • अन्तु

इलामको श्रीअन्तु र समालबुङ २ गाविस मिलाएर अन्तु पर्यटन क्षेत्र घोषणा गरिएको छ। अन्तु डाँडा (१,८२३ मिटर) बाट सूर्योदयरसूर्यास्त देखिन्छ। डाँडा समालबुङमा पर्छ। गाउँबाट कञ्चनजंघा हिमसृङखला देखिन्छ।
अन्तु क्षेत्रको ६० प्रतिशत चियाले ढाकेको छ।  

गाउँका दुई दर्जन घरमा होमस्टे छ । डिनर, बास र नास्ताको ६ सय रुपैयाँ पर्छ। अन्तु पस्नु अघि फिक्कलको लेप्चा संग्रहालय घुम्न भुल्नु हुँदैन।

कसरी पुग्ने  काठमाडौं–फिक्कल ६६० किमि। काठमाडौंको कोटेश्वरबाट दिउसो ३ बजे छुट्छन् इलाम जाने बस। फिक्कल–अन्तु १४ किमि। फिक्कलबाट जीप चल्छन्।

 

  • अमलटारी

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ नवलपरासीको अमलटारी। २०७०  देखि बाघखोरमा होमस्टे सुरु गरिएको। जहाँ थारूका २० र बोटेको २ गरी २२ घरमा होमस्टे सुविधा छ।
प्याकेजमा स्वागत, सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, बर्ड वाचिङ र खाना तथा बास हुन्छ।

कसरी पुग्ने  काठमाडौं–अमलटारी १८५ किमि। काठमाडौंबाट लुम्बिनी जाने बसमा कावासोती पर्तिर डन्डा बजारसम्म जाने। डन्डाबाट ६ किमिमा अमलटारी। बजारमा लोकल बस पाइन्छ।
 

  • भादा गाउँ

कैलालीको भादा गाउँमा थारू होमस्टे छ।  १९ घरमा पाहुना राखिन्छ। २०६७ देखि होमस्टे चलाइएको हो।

पाहुनालाई थारु परिकार चिँचर, लोकल कुखुरा, माछा र रक्सी आदि खुवाइन्छ। साँझ सखिया, हुर्दङवा, झुमरा र मघौटा, लट्ठी नाच देखाइन्छ। भादाबाट ५ किमि दुरीमा बेहडाबाबा मन्दिर छ। गाउँबाट लिन र पुर्यानउन धनगढी, झिल र राजीपुरसम्म लहरु (गोरु गाडा) आउँछन्।

१ रातको ६ सय रुपैयाँ। यति रकमले बास, लन्च, डिनर र ब्रेकफास्ट पाइन्छ। साँस्कृतिक कार्यक्रम हेर्न छुट्टै तिर्नु पर्छ।

कसरी पुग्ने  काठमाडौं–धनगढी ६७५ किमि। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिलबाट १२ किमि पर्छ।

 

  • दरै गाउँ

दरै जातिले होमस्टे चलाएका छन् चितवनको घोक्रेलामा। खैरहनी नगरपालिका– ११ मा ५ घरमा होमस्टे सुविधा छ।    २०७१ पुसदेखि होमस्टे सुरु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्छ दरै गाउँ। नजिकैको कुमरोज मध्यवर्ति सामुदायिक वनमा जंगल वाक, हात्ती सफारी र टावरमा रात विताउन सकिन्छ। डेढ घन्टा जंगल वाकमा गैंडा, चित्तल, जरायो आदि जनावरको दर्शन मिल्छ। गाउँका घर–घरमा गोवर ग्यास छ।   

कसरी पुग्ने  काठमाडौंको कलंकीबाट १२ बजे कुमरोजका लागि गाडि छुट्छ। कुमरोजबाट १ किमिमा होमस्टे। चितवनको पर्सा चौबीस कोठीबाट ६ किमिमा होमस्टे। पर्सा बजारबाट गाउँसम्मै गाडि चल्छ। टाँडीको सौराहा चोकबाट कुमरोजसम्म गाडि चल्छ। सौराहाबजारबाट ८ किमिमा होमस्टे।

 

  • शुक्लाफाँटा

कञ्चनपुरको शुक्लाफाँटा बाह्रसिंगाका लागि प्रख्यात छ। त्यहाँ २२ सय बाह्रसिंगा छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेशद्वारबाट २४ किमि टाढामा पर्छ त्यो फाँटा। फागुनदेखि जेठसम्म शुक्लाफाँटा घुम्ने राम्रो सिजन।

शुक्लाफाँटा बाहिर १४ सय मिटर लामो महाकाली झोलुङ पुल छ। सेरोफेरोमा सिद्धबाबा मन्दिर, झिलमिला ताल, बेतकोट ताल, टनकपुर बाँध र महाकाली नदी घुम्न सकिन्छ।

शुक्लाफाँटा नजिकै नयाँ बस्तीमा राना थारू सामुदायिक होमस्टे सञ्चालनमा आएको छ। ०७२ मंसिर देखि ९ घरमा होमस्टे सञ्चालित छ। एक रात सुतेको तीन सय रुपैयाँ र दालभातको सय रुपैयाँ पर्छ।  

कसरी पुग्ने  काठमाडौं–महेन्द्रनगर–७०० किमि। साँझ काठमाडौंबाट महेन्द्रनगर जाने बस छुट्छन्। महेन्द्रनगर–शुक्लाफाँटा ६ किमि।

 

  • डल्ला

बर्दिया राष्ट्रिय निकञ्जको मध्यवर्ती क्षेत्र डल्लामा होमस्टे सुविधा छ। सूर्यपटुवा–४ डल्लाका २२ थारू घरमा। साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य।

२०६७ फागुनबाट होमस्टे चलाइएको हो।  बर्दियामा ५० बयस्क बाघ र २९ गैंडा छन्। होमस्टेमा बसेर सामुदायिक वनमा सफारी गर्दा गैंडा लगायत जनावर देखिन्छ। निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन, थारु संग्रहालय र ठाकुरबाबा मन्दिर छन्।

१३ सय रुपैयाँको प्याकेजमा डिनर, ब्रेकफास्ट, बास र स्वागत सुविधा हुन्छ। दालभात, तरकारी, अचारदेखि थारू खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ।

कसरी पुग्ने  काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा। ठाकुरद्वारा–डल्ला ५ किमि। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर।

तपाईंको बिचार