Wednesday, March 29, 2017  |    

नेवानिले दुई ठूला जहाज खरिद गर्नुपर्ने निष्कर्ष, खरिदको टुंगो लगाउन उपसमिति गठन

प्रकाशित मिति: 2016/05/04


बैशाख २२ , काठमाडौ । नेपाल वायुसेवा निगम व्यवस्थापनका उच्च अधिकारी सम्मिलित एक अध्ययन उपमितिले ठूलो परिमाणको बजार हिस्सा ओगट्न ’वाइड बडी’ जहाज नै खरिद गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ। दुई महिनाअघि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको संयोजकत्वमा गठित ’वाइड बडी जहाज खरिद अध्ययन उपसमिति’ ले संस्थाको वर्तमान बजार हिस्सा उच्च दरले बढाउन, युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, चीन, लगायतका लामो दुरीका गन्तव्यमा उडान गर्न वाइड बडी नै खरिद गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
निगम व्यवस्थापनले पनि तत्काल दुईथान ठूलो आकारका वाइड बडी जहाज आवश्यक रहेको भन्दै खरिद गर्न आवश्यक रकम जोहो गर्नतिर लागेको छ । यसका लागि स्वदेशका सरकारी तथा निजी क्षेत्रका वित्तीय संस्थादेखि विकल्पका रूपमा विदेशी वित्तीय संस्थासँग ऋण लिने विकल्पसहित निगम अगाडि बढेको छ । निगमका फाइनान्स, कमर्सियल, मार्केटिङ र कर्पोरेट निर्देशक सदस्य रहेको उक्त उपसमितिले तयार पारेको प्रतिवेदनमा मुलुकको उड्डयन बजारअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ’ए३३०–२००’ सिरिजका दुईथान वाइड बडी उपयुक्त रहेको उल्लेख छ । तयार भएको प्रतिवेदन सञ्चालक समितिमा पेस गरिसकिएको छ । निगमले एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ए३३०–२०० सिरिजका दुईथान जहाज ल्याएर लामो दुरीका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । योजनाअनुसार महाप्रबन्धककै संयोजकत्वमा गठित उपसमितिले बजारदेखि यात्रुको माग हुँदै गन्तव्यलगायत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो ।
जहाज खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने अर्का एक अधिकारीले बताए । निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिले ठूलो आकारका दुईथान ’वाइड बडी’ जहाज खरिद गर्न उपसमिति गठन गरेको छ । आगामी दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अर्थ मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा चार सदस्यीय ’वाइड बडी जहाज खरिद उपसमिति’ गठन भएको हो । उपसमितिका सदस्यमा निगमका नायब महाप्रबन्ध रमेशबहादुर शाह, कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्मा र सञ्चालक सदस्य निमानुरु शेर्पा छन् ।

 

तपाईंको बिचार