Wednesday, April 26, 2017  |    

हल्लाको कारण पर्यटक संख्या घट्दो

प्रकाशित मिति: 2016/05/06

वैशाख २४,काठमाडौं ।  हिमालै हिमालको खुम्बु क्षेत्रबारे बर्से्नि फैलिएको गलत हल्लाले पर्यटकको संख्या घटेको छ ।  २०१६ मा भूकम्प गएपछि खुम्बुबारे संसारभर गलत हल्ला फैलिन थालेको हो ।

‘नेपाली सञ्चारमाध्यमभन्दा पनि विदेशीले खुम्बु सुरक्षित छैन भन्दै गलत हल्ला फैलाए,’ होटल एभरेस्ट स्याङ्बोचेका महाप्रबन्धक सोनाम छिरिङ शेर्पाले भने, ‘सामाजिक सञ्जालमा त झन् अनावश्यक त्रास उत्पन्न गर्ने खालको खबर सम्प्रेषित गरियो ।’

सन् २०१५ मा हिमपहिरो गई सगरमाथा आरोहण रद्द भएको थियो । त्यसपछि पर्यटक हवात्तै घटेका थिए । नाम्चेको एभरेस्ट होटलमा नै गत वर्षभन्दा ४० प्रतिशत पर्यटक घटेको सोनामले बताए ।

‘एभरेस्ट’ संसारकै उच्च भूभागमा अवस्थित होटलका रूपमा गिनिज बुकमा रेकर्ड भएको होटल हो । यो समुद्री सतहदेखि ३ हजार ८ सय ८० मिटरमा अवस्थित छ ।

खुम्बुक्षेत्र भूकम्पपछि ध्वस्त भएको भए पनि पूर्ण रूपमा पुनर्निर्माण सकिएर पर्यटक बस्नलायक रहेको यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ । लुक्लादेखि नाम्चेसम्म त बाटोको मर्मत गरेर पहिलेको भन्दा राम्रो बनाइएको छ । पर्यटक बस्ने होटलहरू पनि सबै सुरक्षित रहेको होटल पानारोमा स्याङबोचेका प्रबन्धक लामा पासाङ लामाले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्जले राखेको तथ्यांकअनुसार बर्से्नि पर्यटकको संख्या घटेको देखिन्छ । गत वर्ष जनवरीमा ९ सय २० जना विदेशी पर्यटक खुम्बु घुम्न आएकामा यो वर्षको सोही महिनामा ५ सय ८९ मात्र आए । त्यसैगरी फेब्रुअरी, मार्च र अप्रिलमा समेत गत सालभन्दा क्रमशस् १ सय ८२, २ सय ५२ र ७ सय ६३ ले घटेको छ ।

भारतले अघोषित नाकाबन्दी गर्नुअघि यहाँका होटल बुकिङ भए पनि त्यसपछि रद्द भएको होटल व्यवसायीले बताए । ‘खुम्बुका प्रत्येक होटल बुकिङ भएका थिए । तर, जब भारतको नाकाबन्दी र नेपाली आकाश असुरक्षित भएको खबर फैलिए त्यो सबै रद्द भए ।’

नाम्चेका साइबर व्यवसायी युवास तामाङ यो वर्ष उल्लेख्य पर्यटक नआउँदा चिन्तित छन् । ‘अहिले नाम्चेमा पाइला टेक्ने ठाउँ नहुनुपर्नेमा व्यवसायीहरू पाहुना आउलान् कि भनेर कुर्नुपर्ने अवस्था छ,’ उनले भने ।

खुम्बु क्षेत्र पूरै सुरक्षित भएको खबर र्पुयाउनका लागि खुम्बुवासी प्रयासरत रहेको नाम्चेका अगुवा सोनाम शेर्पाले बताए । उनले विदेशी पत्रकारहरूले वास्तविकता नबुझी संसारभर फैलाउने नकारात्मक हल्ला रोक्नका लागि सरकारले नै पहल गर्नुपर्नेसमेत बताए ।

अर्को पर्यटकीय मौसमका लागि भने पर्यटकहरूले होटल बुक गर्ने क्रम बढेकोले व्यवसायी उत्साहित भएको स्थानीयको भनाइ छ । दैनिक २ हजारभन्दा बढी पर्यटक नाम्चेले नै धान्न सक्ने उनीहरूको दाबी छ । विगत चार वर्षको तथ्यांक हेर्ने हो भने चाँहि सन् २०१४ बाहेकका अरू वर्षमा बर्से्नि विदेशी पर्यटकको संख्या घटेको देखिन्छ ।


 

 

तपाईंको बिचार