Monday, May 22, 2017  |    

बाघ संरक्षणको लागि ३४करोड बजेट

प्रकाशित मिति: 2016/05/08

वैशाख २६, काठमाडौं । बाघको बासस्थान सुधारसँगै बाघ संरक्षण कार्यक्रम सञ्चालनका लागि नेपालस्थित विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) अन्तर्रा्ष्ट्रिय संस्था ‘आईयूसीएन’ बाट करिब ३४ करोड रुपैयाँको कार्यक्रम पाएका छन् ।

नेपालमा कार्यरत यी दुई संस्थासँगै डब्लूडब्लूएफ इन्डियाले पनि अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धाबाट बाघ संरक्षणका लागि कार्यक्रम पाएको छ । बाघ पाइने रूस र थाइल्यान्डबाहेकका ११ देशबीचको प्रतिस्पर्धामा नेपालका दुई संस्थाले उक्त रकम पाएका हुन् । स्विट्जरल्यान्डमा प्रधान कार्यालय रहेको आईयूसीएनले बाघ पाइने देशले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी करिब डेढ वर्षअघि बोलपत्र आहवान गरेको थियो ।

प्रतिस्पर्धाबाट जेडएसएल नेपालले २० करोड र डब्लूडब्लूएफ नेपालले १४ करोड रुपैयाँको कार्यक्रम पाएका हुन् । दुवैले वन मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग सहकार्य गरेर बाघ पाइने विभिन्न आरक्ष र निकुञ्जमा बाघ संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । सञ्चालन हुने कार्यक्रमको खाकाबारे गत साता दुई संस्थाले मन्त्रालय र विभागसँग छलफल गरिसकेका छन् ।

जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि डा. हेमसागर बरालले आईयूसीएनबाट पाएको रकमबाट पर्सा वन्यजन्तु आरक्षसहित बर्दिया र बाँके निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र भारततिरको नन्धउर वाइल्डलाइफ सेन्चुरीमा बाघको बासस्थान सुधार र बाघको संरक्षणमा कार्यक्रम केन्द्रित हुने बताए ।

‘निकुञ्ज विभाग र हिमाली प्रकृतिसँग मिलेर हामीले बाघ संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछौं,’ बरालले भने । डब्लूडब्लूएफ नेपालका फिल्ड कार्यक्रम निर्देशक शिवराज भट्टले आईयूसीएनबाट प्राप्त रकमबाट पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा बाघ संरक्षणको कार्यक्रम सञ्चालन हुने बताए । भट्टका अनुसार डब्लूडब्लूएफ इन्डियाले पर्सा वन्यजन्तु आरक्षसँग जोडिएको वाल्मीकि वाइल्डलाइफ सेन्चुरीमा बाघ संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ । वाल्मीकि वाइल्डलाइफ सेन्चुरी नेपालको पर्सा वन्यजन्तु आरक्ष र चितवन निकुञ्जसँग जोडिएको संरक्षण क्षेत्र हो । यताका बाघ उता र उताका बाघ यतातिर आउजाउ गर्ने भएकाले दुवैतिर बासस्थान सुधार तथा संरक्षणको खाँचो आवश्यक देखिन्छ ।

‘बाघको कनेक्टिभिटी जोड्न यो कार्यक्रम केन्द्रित हुनेछ,’ भट्टले भने, ‘बाघको बासस्थान सुधार गर्ने, चोरी सिकारी रोक्ने र बाघ र मानव द्वन्द्व सम्बोधन गर्न पनि कार्यक्रमले जोड दिनेछ ।’ बाघ पाइने मुलुकहरूले सन् २०२२ सम्ममा बाघ दोब्बर पार्ने प्रतिबद्धता सन् २०१० मा रूसमा भएको सम्मेलनमा जनाएका थिए । त्यसपछि सबैले संरक्षणका विभिन्न कार्यक्रम अघि बढाइरहेका छन् । जसअनुसार नेपाल, भारत, भुटान र रूसमा बाघको संख्या तीव्र गतिले बढिरहेको छ । पछिल्लो गणनाअनुसार नेपालमा पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षसहित चितवन, बर्दिया र बाँके निकुञ्जमा १९८ वयस्क बाघ छन् ।

 
 

 

तपाईंको बिचार