Monday, May 1, 2017  |    

बौद्ध सम्मेलनले बुद्ध सम्बन्धी सबै भ्रम हट्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2016/05/09

वैशाख २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६० औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुने बताउनुभएको छ  ।

प्रधानमन्त्री निवास बालुवाटारमा २५६० औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको आजको बैठकमा उहाँले बुद्धसम्बन्धी भएका भ्रमहरुलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सिद्धार्थ गौतमले एकैपटक परिवार, दरबार र श्रीपेच छाड्नसक्नु बुद्धत्व प्राप्तबाट भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “असाधारण साहसिक, लोभ, मोह त्याग गर्न सक्नु ज्ञान प्राप्त नगरी सम्भव हुने थिएन ।” प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको बताउनुभयो । नेपाल बुद्ध दर्शनको इतिहास थलोमात्र नभएर बुद्धका तीन सम्प्रदाय पनि नेपालबाटै सुरु भएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै भएको हुनाले बुद्धजयन्ती लुम्बिनीमै मनाउने र अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौँमा गर्न लागेको जानकारी दिनुभयो ।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको पुष्टि सम्मेलनले गर्ने बताउनुभयो ।
उहाँले गौतम बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएका भन्ने सच्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचारसमेत गरिसकेको र दक्षिण कोरियाले बुद्ध भारतमा जन्मिएको भन्ने शब्द हटाएर नेपालमा जन्मिएको कुरा उल्लेख गरेको समेत जानकारी दिनुभयो ।
बैठकमा सहभागीहरुले गौतम बुद्ध नेपाल नभई अन्य देशमा जन्मिएको भन्ने कुरा प्रचार प्रसारको कमीका कारण भएको र ऐतिहासिक सम्मेलनले बुद्धसम्बन्धी सम्पूर्ण भ्रम अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
 “लुम्बिनी, नेपाल भगवान् बुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल” भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा तथा २५६० औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा जेठ ८ गते मनाइने भएको हो ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ५०१ मूल समारोह समितिको बैठकमा मूल समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनमा १३ देशका संस्कृति मन्त्रीहरु आउने जानकारी दिनुभयो ।
साथै, सम्मेलनका लागि १३ वटा उपसमितिहरु निर्माण गरिएको छ । सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।   

तपाईंको बिचार