Monday, December 18, 2017

भक्तपुरमा ब्रह्मायणीको दुई मूर्ति चोरी

प्रकाशित मिति: 2016/05/11

बैशाख २९,  काठमाडौं । भक्तपुर नगरपालिका १ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ। 
 ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको ढलोटको मूर्ति एक र चारवटै हात भएको १० इन्च अग्लो करिब पाँच किलोकै ढलोटको अर्को मूर्ति गए राति चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए। 
 
ब्रह्मायणी गुठीसहित र चारजना पुजारी रहेको यस मन्दिरमा बिहान नित्यपूजा गर्न जाने क्रममा चोरी भएको जानकारी पाइएको हो। स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको टोली पुगेको उनले बताए। 
 
गए राति मन्दिरको बाहिरको ढोका फोडेरभित्र रहेको अर्को ढोकाको भोटे ताल्चा फोडी, अझैभित्र रहेको च्यानल गेटको समेत ताल्चा फोडेर मूर्ति चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए। 
 
भूकम्पपछि ब्रह्मायणी मन्दिर आसपासका बासिन्दा अन्यत्र गएपछि चोरी गर्न सहज भएको प्रहरीको अनुमान छ। प्रहरीले शङ्कास्पद ठाउँमा छापा मार्ने र विभिन्न नाका बन्द गराई खोजी कार्य सुरु गरिसकेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए।
 

 

तपाईंको बिचार