Saturday, June 24, 2017  |    

दुई वर्षपछि सगरमाथा आरोहण सुरु, नौ शेर्पा चुचुरोमा

प्रकाशित मिति: 2016/05/12

वैशाख ३०, काठमाडौं । गएका दुई वर्ष लगातार ठूला प्राकृतिक विपत्तिका कारण रोकिएको सर्वोच्च शिखर सगरमाथा आरोहण यसपालि नौजना शेर्पा चुचुरो पुगेपछि पुनः सुरु भएको छ ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्ने आशाका साथ त्यसतर्फ २ सय ८८ विदेशी र एक नेपाली आरोही (झापाका अनिष लुइँटेल) तथा करिब ४ सय ’हाइ अल्टिच्युड वर्कर’ ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा बसिरहेका छन् । यी सबै ३४ आरोहण दलमा सहभागी छन् ।

ती सबैलाई चुचुरो पुग्ने ’बाटो’ बनाउन गएका नौ शेर्पाले बुधबार साँझ ५ बजेर २ मिनेटमा सगरमाथा शिखर पुगेका हुन् । उनीहरू दक्षिणीपूर्वी मोहोडा (नेपाली भेग) बाट शिखर पुगेको सगरमाथा आधारशिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

पासाङतेन्जी शेर्पासहित निमाछिरी शेर्पा, आङतेम्बा शेर्पा, मिङ्माछिरी शेर्पा, ग्याल्जेनदोर्जे शेर्पा, आङग्याल्जेन शेर्पा, मिङ्मा शेर्पा, ल्हाक्पाछिरिङ शेर्पा र शेरेग्याल्जेन शेर्पा चुचुरोमा पुगेका हुन । उनीहरूले सगरमाथाको ७ हजार ९ सय २० मिटर उचाइमा अवस्थित चौथो क्याम्पबाट चुचुरोसम्म बाटो बनाएका छन् । डोरी टाँग्ने, भ¥याङ राख्नेलगायत काम गर्दै उनीहरूले बाटो बनाएका हुन् ।

 
सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन् । उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन् । त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ ।

यसपालि आरोहणमा आएका अधिकांश आरोही तिनै हुन् जसले २०७२ रु २०७१ मा अुनमति शुल्क तिरेर पनि आरोहण गर्न पाएका थिएनन् । २०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगन गरेको थियो ।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो । त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो । पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्ष्भित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो ।
 

तपाईंको बिचार