Monday, May 1, 2017  |    

हिमालमा अलपत्र ४ जनालाई काठमाडौं ल्याइयो

प्रकाशित मिति: 2016/05/14


जेष्ठ १, काठमाडौं । मनाङ खण्डमा पर्ने सारेबुङ हिमाल (६,३४६ मी.) को बेसक्याम्पमा अलपत्र परेका २ जर्मनी नागरिक र १८ जना नेपालीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विरामी अवस्थाका २ जना जर्मनी नागरिक र २ जना नेपाली भरियालाई काठमाडौं ल्याइएको छ । जर्मन नागरिक ४८ वर्षीय टोबियस् ग्रोएनेन र ४४ वर्षीया गुड्रुन इग्रीड जिगर्मनलाई उद्धार गरि चामे ल्याएर काठमाडौं लगिएको छ । उनीहरु पतिपत्नि हुन् ।
 यस्तै, नुवाकोट लच्याङ २ का होमबहादुर गलान र वडा नं. ३ का आइते तामाङलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । २० जनामध्ये बाँकी १६ जनालाई फू गाउँको गुम्बामा ल्याइएको थियो । फु गाविसमा पर्ने बेसक्याम्पको ५ हजार ९ सय २५ मिटरमा अलपत्र उनीहरुलाई ५ हजार मीटरमा ल्याएर फू को गुम्बामा झारिएको थियो । उनीहरु फू गाउँबाट तल्लो क्षेत्रमा हिँडिसकेको प्रजिअ शर्माले बताए । उनीहरु शनिबार फू र नार गाविस छुटिने बाटो मेतामा आइपुग्ने उहाँले बताउनुभयो । 
उनीहरु सारेबुङ हिमालको दक्षिणी मोहोडा फू गाविसमा पर्ने हिमालको बेस क्याम्पमा बसिरहेको बेला शुक्रबार एक्कासी आएको हिमआँधीले सवै सामान उडाएपछि अलपत्र परेका थिए । उनीहरु मुस्ताङको दमोदर कुण्ड अवलोकन गरेपछि हिमाल चढेर मनाङतर्फ झरेर बेसक्याम्पमा बास बस्न आएका थिए ।

 

तपाईंको बिचार