Thursday, June 29, 2017  |    

स्थानीय युवाहरुले बनाए पर्यटकीय पदमार्ग

प्रकाशित मिति: 2016/05/16

जेठ ३, सोलुखुम्बु । पछिल्लो समय पर्यटकीय दृष्टिकोण विकसित हुँदै गएको तल्लो सोलुमा पर्ने सोलुखुम्बुको तिङलामा अवस्थित लौरेश्वर महादेवको मन्दिर परिसरलाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास तथा विस्तार गर्नका लागि स्थानीयले पर्यटकीय पदमार्ग निर्माण गरेका छन् ।

तिङलाको रमितेदेखि लौरेश्वर परिसरसम्म स्थानीय युवाहरुको अगुवाईमा प्रतिदिन २० जनाको दरले पाँच दिनको श्रमदानबाट पदमार्ग निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज कार्कीले बताए । कार्कीकाअनुसार आन्तरिक तथा बाह्य पर्यटकहरुको अवागमन बढिरहेकाले आवतजावतमा सहज बनाउन पदमार्ग निर्माण गरिएको हो ।

वि.सं. २०३१ सालको टिम्बुरबोटे काण्डले परिचित तिङ्लाको उच्च स्थानमा रहेको लौरेडाँडाबाट खुलेको मौसममा विश्वको सगरमाथालगायत नेपालका विभिन्न मनमोहक हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । साथै तराईका विभिन्न स्थान समेत ठम्याउन सकिने उक्त स्थानलाई पर्यककीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाको उत्तरी क्षेत्रमा मात्रै सीमित रहेको पर्यटन व्यवसाय दक्षिणी भेगमा समेटत झार्न सकिने भएकाले पदमार्ग आफ्नै प्रयासमा बनाएको स्थानीय डिल्लीसिं कार्कीले बताउए ।

यस क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्नका लागि अघिका वर्षहरुमा नेपाल सरकारले पटक पटक लगानी गरेको छ । प्राप्त रकमले एउटा भवन निर्माण गरेको र बजारलाई व्यवस्थित बनाएको बताइएको छ । प्रशस्त सम्भावना बोकेको त्यस क्षेत्रलाई पर्यटकीय रुटको विकास गर्न आवश्यक रहेकाले थप लगानी आवश्यक रहेका स्थानीयको भनाइ छ ।

समुद्र सतहबाट करिब २५ सयको उचाईमा रहेको मनोरम वातावरण रहेको त्यस स्थानमा लौरेश्वर महादेवको मन्दिर रहेकाले धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष ऋषितर्पणी पूर्णिमाको दिन सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका विभिन्न गाविसबाट हजारौँ भक्तजनहरुले दर्शन गर्न आउने र अन्य समयमा पनि फाटफुट आन्तरिक पर्यटक आउने त्यस स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा समेत विकास गर्न सकिने स्थानीयको भनाइ छ ।
 

तपाईंको बिचार