Saturday, April 29, 2017  |    

बुद्धजयन्तीको अवसरमा स्वयम्भुमा पर्यटकलाई निःशुल्क प्रवेश

प्रकाशित मिति: 2016/05/21

जेठ ८,काठमाडौं ।  स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६०औँ बुद्धजयन्तीको अवसरमा यही जेठ ८ गते त्यस क्षेत्रमा घुम्न आउने सम्पूर्ण पर्यटकलाई प्रवेश निःशुल्क गर्ने भएको छ ।

सामान्य दिनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कराष्ट्र)का पर्यटकलाई रू. ५० तथा अन्य मुलुकका पर्यटकलाई रू. २ सय लिइँदै आएकामा बुद्धजयन्तीका दिन पर्यटकलाई समेत प्रवेश शुल्क छुट गर्न लागेको हो । महासमितिको यस निर्णयले त्यहाँ आउने पर्यटक लाभान्वित हुने भएका छन् । 

महासमितिका उपाध्यक्ष ज्ञानु लामाले त्यस क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क छुट गरी उनीहरुलाई बौद्ध दर्शनको महत्वका बारेमा सन्देश दिन खोजिएको बताए ।

महासमितिले मुलुकमा पर्यटक आवागमनको मौसममा विदेशी पर्यटकबाट दैनिक करीब रू. एक लाखभन्दा बढी तथा सामान्य अवस्थामा पनि रू. ५० हजारको हाराहारीमा रकम सङ्कलन गर्दै आएको छ ।

यसैगरी, महासमितिले यसवर्षको बुद्धजयन्तीका सन्दर्भमा सरसफाइ, रक्तदान, त्यहाँ आउने दर्शनार्थीका लागि भीड व्यवस्थापन, खिर भोजन लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । त्यसका लागि नेपाल स्काउट, सुरक्षाकर्मी, स्वयम्सेवकलगायत आवश्यक स्थानमा खटाउने व्यवस्था मिलाएको छ । छिटोछरितो दर्शनको व्यवस्था तथा महाचैत्यबाट करिब दुई किलोमिटर तल सवारीसाधनको व्यवस्थापनका लागि प्रबन्ध मिलाएको छ ।

महासमितिका कोषाध्यक्ष पुण्यसागर लामाले यसवर्षको बुद्धजयन्तीमा विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्न करीब रू. आठ लाख खर्च विनियोजन गरिएको बताए । बुद्धजयन्तीका दिन स्वदेशी तथा विदेशी गरी एक लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।
 

तपाईंको बिचार