Sunday, March 26, 2017  |    

फूजेलमा रहेको समिको रुख दक्षिण एशियाकै ठुलो भएको दाबी

प्रकाशित मिति: 2016/05/22

जेठ ९, गोरखा (फूजेल) । गोरखा फुजेलको याङ्दीमा बृहत समिको रुख फेला परेको छ । सम्भवतः  दक्षिण एसियाकै ठूलो अनुमान गरिएको उक्त रुख प्रवद्र्धन गर्ने उदेश्यले जनस्तरबाट संरक्षण समेत सुरु गरिएको छ ।
हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण गर्न सके क्षेत्रीय तथा स्थानीय स्तरमा पर्यटन विकासमा टेवा पुग्ने भन्दै स्थानीयबासीले  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण आरोहण संघ (एनएमए) संगको साझेदारीमा उक्त रुखको संरक्षण सुरु गरेका छन् । टान र एनएमएको आर्थिक सहयोग अनि स्थानीयको जनश्रमदानमा रुखको वरिपरि काँडेतार लागाउनुका साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरिएको छ । पर्यटन व्यवसायी गोविन्द पन्तको विशेष सक्रियतामा उक्त काम सम्पन्न भएको हो । एसियाकै ठूलो भनि आधिकारिकता प्रमाणित गर्न जिल्ला वन कार्यलय गोरखा मार्फत  पहल थालिएको स्थानीयबासी समेत रहेका पन्तले  जानकारी दिए ।

यो रुखले दश रोपनी क्षेत्रफल जमिन ओगटेको स्थानीय ललहरी पन्तले बताए । रुखको फेदमा रहेको सत्यदेवी मन्दिरको पुजारी समेत रहेका पन्तका अनुसार रुखमा चढेर जसले समि काट्छ उहि लड्ने भएपछि कोहि पनि रुखमा नचढेको भन्दै यसमा अलौकिक शक्ति समेत रहेको दाबी गरे । रुखको हाँगामा अनौठा आकृतिहरु देखिने स्थानीय महिला कन्पना थापाले जानकारी दिइन् । रुखको मुल हागा २ सय ५० भन्दा बढी रहेकोे समेत उनले दाबी गरिन् । 
काठमाडौंबाट सय किलोमिटरको दुरी पार गरेर पुग्न सकिने उक्त स्थानमा सार्वजनिक यातायातको बस चढेर पनि त्यहाँ पुग्न सकिन्छ । पृथ्वी राजमार्गको बेनिघाटबाट करिब २ घन्टाको कच्चीबाटो हुँदै समिको रुखसम्मै पुग्न सकिन्छ ।  
  

तपाईंको बिचार