Monday, May 22, 2017  |    

पुर्वाधारको अभावमा पर्यटकीय स्थल

प्रकाशित मिति: 2016/05/22

जेठ ९, म्याग्दी ।  दिन प्रतिदिन आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्घि हुँदै गइरहेको म्याग्दी जिल्लामा भौतिक पुर्वाधार विकासको अभावमा पर्यटकीय गन्तव्यहरुको उचित पहिचान हुन सकेको छैन् ।

 
जिल्लाका ज्यामरुककोट, ताकमकोट, पछै, खयरवाराहीलगायतका ऐतिहासिक, पुरातात्विक र जैविक महत्वले पूर्ण र प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउँहरुमा ग्रामीण पर्यटनको बलियो सम्भावना रहेको पाइएको छ । ती स्थानमा दुई वर्षअघिको तुलनामा अहिले पर्यटकको आगमनमा ४५ प्रतिशतले आन्तरिक पर्यटकको वृद्धि भएको जिल्ला विकास समितिको तथ्याङ्कमा उल्लेख छ ।

सरकारी निकायले ती स्थानलाई ग्रामीण पर्यटनका लागि उपयुक्त स्थान भने पनि ग्रामीण पर्यटन पुर्वाधार निर्माण भने त्यति ध्यान नदिएको स्थानीयवासीको गुनासो रहेको छ ।

ज्यामरुककोट र ताकमकोट जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल मानिन्छन् । ज्यामरुककोटमा ५०० वर्ष पुरानो राजकुवा रहेको छ । त्यसैगरी खडुगभवानी कोत रहेको डाँडोबाट पश्चिम नेपालका अधिकांश जिल्ला देखिनुका साथै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«लगायतका १६ वटाभन्दा बढी हिमालको दृश्यावलोकन गर्न सकिन्छ । गएको असार १ गतेदेखि फागुन मसान्तसम्म यहाँ करिब पाँच हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका ज्यामरुककोट पर्यटन विकास समितिले जनाएको छ ।

हिन्दूहरूको प्रमुख धार्मिकस्थल मानिने मुक्तिनाथ जाने भारतीय पर्यटक र पैदलमार्ग हुँदै मुस्ताङ भ्रमणमा जाने तेस्रो मुलुकका पर्यटकका लागि प्रवेशद्वार मानिने म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब चार किमीको दूरीमा रहेको ज्यामरुककोट पर्यापर्यटन र धार्मिक पर्यटनका लागि पनि उपयुक्त स्थान रहेको ज्यामरुककोटका स्थानीयवासी कृष्णबहादुर कार्कीले बताए । भौतिक पूर्वाधार, यातायात र स्तरीय होटेल तथा लजको व्यवस्था हुने हो भने यहाँ वार्षिक ३० हजार पर्यटक भित्र्याउन सकिने कार्कीको भनाइ रहेको छ ।

त्यसैगरी पश्चिम म्याग्दीको ताकमकोट र नेपालमै छन्त्याल जातिहरुको उद्गमस्थल मानिने गुर्जा गाउँ, गुर्जा हिमाल, चुरेन हिमाल, धौलागिरि पहिलो, दोस्रो र तेस्रो हिमाल, सुनखानी रहेको भनेर दाबी गरेको सुनधारा, दुर्लभ हिममानवको वासस्थान रहेको धौलागिरि हिमालको फेदीमा अवस्थित सहस्रधारा यस्ता ठाउँ हुन् जसको नाम देश विदेशमा समेत फैलिएको छ । तर पूर्वाधार र सरकारी योजनाको अभावमा ती ठाउँ ‘बत्तीमुनिको अँध्यारो’ जस्तै बनेका जिल्ला विकास समिति म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए । जिल्लामा पर्यटकलाई आकर्षित गर्ने मनोरम थलो भएर पनि सम्बन्धित निकायले खासै ध्यान दिन नसकेपछि ओझेलमा परेको पर्यटन व्यवसायीको गुनासो छ ।

त्यस क्षेत्रको प्रचार प्रसार गर्न र पर्यटकलाई आकर्षित गर्न पटक पटक पर्यटन सूचना केन्द्रको माग गर्दा पनि पर्यटन मन्त्रालयले चासो नदिएको आरोप लगाउँदै धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भने – “सूचना केन्द्रको व्यवस्था भएमा ग्रामीण पर्यटन र पर्यापर्यटनको राम्रो विकास हुने थियो ।”
सामाजिक कार्यकर्ता महावीर पुनले म्याग्दीलाई सूचना प्रविधिको राजधानी बनाउन विभिन्न योजना अघि सारेको भए पनि सरकारले भने त्यति चासो नदेखाउँदा यहाँका प्रशस्त पर्यटकीय ठाउँ उपयोगविहीन अवस्थामा पुगेका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

पर्यटकलाई आकर्षित गर्ने स्थान जिल्लामा प्रशस्त छन् । नेपालकै एकमात्र जगन्नाथ मन्दिर, उडाइनो झरना हालसम्म ओझेलमै रहेको छ । जिल्लामा रहेका तातोपानी कुण्डका बारेमा धेरैलाई जानकारी छैन ।

त्यसैगरी मुक्तिनाथ प्रवेशद्वारको नजिकै गलेश्वरको छेउमै पर्ने जलेश्वर कुण्ड, राम्चेमा अवस्थित पुन मगरहरुको कुलदेवताको मन्दिर करवाकेली, खोप्रा लेक, गलेश्वरपारिको राम मन्दिर, भगवती गाविसको भगवतीस्थान पनि कम महत्वका छैनन् । जिल्ला विकास समितिले २०५७ सालदेखि पर्यटन प्रवद्र्घनका लागि नीतिभित्र समावेश गरी बजेट छुट्याउँदै आएको छ । तर ज्यामरुककोट र ताकमकोटका लागि स्थानीयस्तरमा समिति गठन गर्नेबाहेक केही काम हुन सकेको छैन ।
पर्यटनका लागि कुहु गाविसको टोड्के पनि नयाँ स्थानका रुपमा देखापरेको छ । हाल कुहुसम्म यातायात सेवा सञ्चालन हुँदै आएको छ ।

धौलागिरि र नीलगिरिको हाराहारीमा पर्ने मनोरम टोड्के दृश्यावलोकन गर्न बाह्य र आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्दै छ ।

विदेशी पर्यटक त्यहाँको शान्त वातावरण, मगर संस्कृति र मनोरम दृश्यावलोकनका लागि आकर्षित हुने गर्छन् । तर भौगोलिक विकटता र ठूलो बजेटको खाँचोका कारण ती गन्तव्यहरुको सदुपयोग हुन सकेको छैन ।

पश्चिमी भेगमा तातोपानी, मुदी, वरनाथ, जगन्नाथ, भुमेथानलगायत दर्जनौँ दर्शनीय, धार्मिक तथा ऐतिहासिक स्थलहरू छन् । वरञ्जा गाविसको झाँक्रीपानी पर्यटनका लागि अर्को आकर्षणको केन्द्रबिन्दु हो । गाउँको सिरान र घना जङ्गलको छेउमा रहेको सो क्षेत्रमा दुर्लभ वन्यजन्तुका साथै दुर्लभ वनस्पति र जडीबुटीको भण्डार रहेको छ । समुद्री सतहबाट तीन हजार १५१ मिटरको उचाइमा रहेको सो स्थानमा, पाँचऔंले, पदमचाल, सेतो चन्दनलगायत ३२ प्रजातिका जडीबुटी फेला परेको छ ।

 
 

 

तपाईंको बिचार