Saturday, June 24, 2017  |    

काठमाडौंको सतह मुनि लुकेका सम्पदा

प्रकाशित मिति: 2016/05/26

महाभूकम्पपछिको अन्वेषणले काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदाहरू मुनि प्रशस्त पुरातात्विक अवशेष रहेको देखाएको छ। विश्व सम्पदा सूचीका हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्रका भवन, मठमन्दिर, डबली आदि ऐतिहासिक संरचनाहरूको मात्र चर्चा हुँदै आएको छ, आजसम्म। 
वास्तुकला, निर्माण प्रविधि, प्रयुक्त सामग्री र सांस्कृतिकरधार्मिकरऐतिहासिक कारणले यी संरचनाहरू विश्व प्रसिद्ध छन्। हालैको एक अन्वेषणले यी सम्पदा रहेका जमीनभित्र पनि प्रशस्त पुरातात्विक अवशेष रहेको देखाएको छ। ती अवशेषहरू सतहको उज्यालोमा आउँदा इतिहासको कुन–कुन पाटोमा प्रकाश पार्छन् उत्खनन नहुँदासम्म पर्खनै पर्नेछ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को), बेलायतको डर्हाम विश्वविद्यालय र नेपालको पुरातत्व विभागले १२ र २९ वैशाख २०७२ को महाभूकम्पबाट ध्वस्त यी तीन वटै दरबार क्षेत्रको ‘ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक’ अनुसन्धान गरेका थिए।

१८ असोजदेखि ६ मंसीर २०७२ सम्मको अनुसन्धानमा ‘ग्राउन्ड पेनिट्रेटिङ राडार’ (जीपीआर) प्रयोग र उत्खनन विधि अपनाइएको थियो। जीपीआर प्रविधिले जमीन नखनी त्यसभित्रका वस्तुहरूको जानकारी दिन्छ।  

के–के होला मुनि?
हनुमानढोका दरबार क्षेत्रमा काष्ठमण्डपको दक्षिण–पश्चिमको कुनो, पाटनमा चार नारायण मन्दिरदेखि दरबारको बाटोसम्म र भक्तपुर दरबार क्षेत्रमा वत्सला मन्दिरको पश्चिम भागमा उत्खनन गरिएको थियो।

त्यसक्रममा ती मन्दिरहरूका जगसम्बन्धी नयाँ तथ्यहरू फेला परेका छन्। काष्ठमण्डप र चार नारायण मन्दिरको जग सुरक्षित र समान छन् भने वत्सला मन्दिरको जग बिग्रिएको छ।

चार नारायण मन्दिरको पूरा जग ईंटाले बनेको छ। जमीनको अन्तिम सतह र ईंटको जगबीचमा ढुंगा राखिएको छ। जगको ढुंगाले भूकम्पको झट्का थेग्छ भन्ने मानिन्छ। त्यसबारे राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले अध्ययन थालेको छ।

सम्पदाविज्ञ प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार, मल्लकालयता संरचनाका जगमा ढुंगा राख्न थालिएको थियो। काष्ठमण्डपको जगमा भने ढुंगाको प्रयोग देखिएन। “यसबाट काष्ठमण्डप मल्लकालअघि नै निर्माण भएको प्रमाणित हुन्छ”, तिवारी भन्छन् “लिच्छविकालमा जगमुनि ढुंगा राखिंदैनथ्यो।”

अहिलेको अध्ययन काष्ठमण्डप बनेको समय यकिन गर्न पनि सहायक हुने विश्वास गरिएको छ। यस पटकको अध्ययनमा काष्ठमण्डपको जग र थामहरू गाडेको स्थान भेटिएको छ। हरेक थामका लागि छुट्टै जग रहेछ। मूल जगभित्रको माटो फालेर नवकुण्ड (१६ खुट्टे) बनाइएको छ।
जगमाथि प्वाल खोपेको ढुंगा (ई लोंह) राखेर त्यसमा थाम अड्याइएको छ। ढुंगा र थामको बीचमा सुन लेपन गरिएका सिक्का राखिएको रहेछ।

काष्ठमण्डप निर्माणमा प्रयोग भएका कतिपय काठको तलको भागलाई तामाका पाताले बेरेको पाइएको छ। यस्ता सबै भौतिक सामग्री उत्खननका क्रममा भेटिएका हुन्। जीपीआरको माध्यमबाट गरिएको अन्वेषण सतह मुनि अन्य थुप्रै पुरातात्विक अवशेष रहेको पाइएको छ।

अन्वेषण टोलीमा रहेका पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य तीन वटै दरबार क्षेत्रमा पुरातात्विक अवशेषहरूको भण्डार नै देखिएको बताउँछन्। ती वस्तु के हुन् भनेर थाहा पाउन चाहिं थप अन्वेषण नै गर्नुपर्छ।

जीपीआर प्रविधिबाट हनुमानढोका दरबार परिसरको पूर्वीभाग, बसन्तपुर शुरू हुने ठाउँ, उपहार सामग्री पसलहरू रहेको डबली मुनि र माजु देगः मन्दिर वरिपरि प्रशस्तै पुरातात्विक अवशेष रहेको देखिएको छ।

काष्ठमण्डपको पश्चिमपट्टि र दक्षिणतिरको डबली मुनि पनि त्यस्ता अवशेषहरू देखिएका छन्। काष्ठमण्डप बनाउँदा उब्रिएको एउटै रूखको काठ दक्षिणको डबलीमा राखिएको जनश्रुति पनि छ। अहिले त्यही ठाउँमा अवशेष देखिंदा पुरातत्वविद्हरू उत्साहित छन्।

त्यो ठाउँमा काष्ठमण्डप निर्माण वा मर्मत गर्दाका रेखाचित्र, नापनक्शा वा यस्तै अरू कागजात पनि राखिएको हुनसक्ने प्रा. तिवारीको अनुमान छ। त्यहाँ केही छ भन्ने कुरा सामाजिक स्मृतिमा रहँदै आएकोमा अहिले प्रविधिले पनि देखाएको बताउँदै उनी भन्छन् “पुनःनिर्माण गर्दा यसको उत्खनन पनि गरौं, ड्रइङहरू नै भेटियो भने त काष्ठमण्डपबारे थुप्रै नयाँ कुरा थाहा हुन्छ।”

उता, पाटनमा चार–नारायण मन्दिरदेखि दरबार अगाडिको सडकसम्म र भक्तपुरमा पश्चिम ढोकाबाट दरबार क्षेत्र छिरेपछि आउने फराकिलो खुला क्षेत्रमा जीपीआर सर्भे गरिएको थियो। हनुमानढोकामा २००९ वर्ग्मिटर, पाटनमा १२४९ वर्ग्मिटर र भक्तपुरमा १८३० वर्ग्मिटरमा यस्तो सर्भे गरिएको थियो।

उपत्यकाको पुरातात्विकरऐतिहासिक सम्पदा ‘डकुमेन्टेसन’ गर्दै आएका आलोक तुलाधर अनुसन्धान प्रतिवेदनले पुरातात्विक अवशेष रहेको देखाइसकेपछि तत्काल अन्वेषण थाल्नुपर्नेमा त्यसो हुन नसकेको बताउँछन्। सबै जमीनमाथिको पुनःनिर्माण भन्दै दौडिरहेको बताउँदै उनी भन्छन्, “सतह मुनि परेको इतिहासमा त कसैको ध्यानै छैन।”

ऐतिहासिक सम्पदाहरूको अध्ययनपछि प्रकाशित ‘काठमाडौं उपत्यकाको विश्व सम्पदा क्षेत्रमा भूकम्पपछिको शहरी पुरातात्विक अन्वेषण, क्षतिको मूल्यांकन र विवेचना’ शीर्षकको प्रतिवेदनले थप अनुसन्धानले सम्पदाको पुनःनिर्माणमा सहयोग र्पुयाउने औंल्याएको छ।

प्रतिवेदनमा सिफारिश छ– ‘काष्ठमण्डपमा गरिएको अन्वेषणले स्पष्ट चित्र प्रस्तुत गरेको भए पनि त्यो सानो क्षेत्रमा मात्र गरिएकाले त्यहाँको संरचनाबारे पूर्ण जानकारी लिन सकिएन। त्यहाँका अन्य सम्पदाको पनि उत्खननरअनुसन्धान गरिनुपर्छ। त्यहाँ गरिने उत्खननले त्यसको इन्जिनियरिङ, निर्माणको चरण र पुनःनिर्माणको तरीकाबारे जानकारी दिनेछ।’

सम्पदाको पुनःनिर्माणलाई शिक्षा

माटो परीक्षणका लागि काष्ठमण्डपको दक्षिणपट्टि ड्रिलिङ गर्दा खानेपानीको पाइप फुटेर चुहेको पानीले काष्ठमण्डपको पूरै जग भिजेको ‘आर्कियोलोजिकल अध्ययन’ मा देखियो। गत वर्षको कात्तिकमा देखिएको यो बिगार अहिलेसम्म पनि सच्याइएको छैन। “भूकम्प थेगेर सुरक्षित रहेको जग अहिले पानी भरिएर कमजोर बन्दैछ”, प्रा. तिवारी भन्छन्, “यसले गैर–जिम्मेवारी र लापरवाहीको हद देखाएको छ।”
 

पुरातात्विकरऐतिहासिक सम्पदा क्षेत्रमा पूर्वाधार विकासदेखि निर्माणसम्मका काम गर्दा कति सजग हुनुपर्छ भन्ने यसले देखाउँछ। तर, अहिले पनि तीनवटै दरबार क्षेत्रभित्र अन्धाधुन्द रूपमा पोल गाड्ने, ढल लैजाने, ढुंगा छाप्ने, पाइप र तार बिछ्याउने, ठूला सवारी साधन गुडाउने लगायतका कामहरू भइरहेको छ। अन्वेषणका क्रममा भक्तपुर दरबार स्क्वायरभित्र जमिनमुनी पाइप र विद्युतीय तारहरू जस्ता गैर पुरातात्विक वस्तुहरू प्रशस्तै पाइएका थिए। यस्ता कार्यले जमीनको सतह मुनि रहेका ती पुरातात्विक अवशेषलाई नष्ट बनाउँछन्।

तीनवटै दरबार परिसर वरपर घना बस्तीहरू भएकाले पूर्वाधार विकास लगायत निर्माणसँग सम्बन्धित कामहरू भइरहन्छन्, गरिरहनुपर्छ। पुरातात्विक अवशेष रहेका स्थान पत्ता लागिसकेकाले अब भने त्यस्ता काम गर्दा उच्चतम होशियारी अपनाउनुपर्ने पुरातत्व विभागका पूर्व महानिर्देशक आचार्य बताउँछन्।

भूकम्पले दरबार, मठ, मन्दिर भत्काएपछि भग्नावशेष हटाउन डोजर प्रयोग गरियो। त्यस्ता गह्रौं उपकरणले सतह मुनिका पुरातात्विक सम्पदामा असर पु¥याउने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन भन्छ– ‘हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्रमा जीपीआर सर्भेका आधारमा बनाइएको पुरातात्विक जोखिम नक्शाका आधारमा मात्र काम गर्नुपर्छ। भूकम्पले ध्वस्त बनाएका संरचनाको पुनःनिर्माण पनि त्यही आधारमा गर्नुपर्छ।’

विश्व सम्पदा सूचीमा रहेका अन्य जोखिमयुक्त पुरातात्विक सम्पदाको नाजुक अवस्थालाई पनि विनाशपछिको क्षति मूल्यांकन प्रतिवेदन (पीडीएनए, सांस्कृतिक सम्पदा) मा समेट्नुपर्ने सुझाएको प्रतिवेदनले दत्तात्रय, पशुपति, स्वयम्भू, बौद्ध, चाँगुनारायण लगायत स्थानमा जीपीआर सर्भे गर्न भनेको छ। प्रतिवेदनमा छ, ‘जीपीआर सर्भेपछि जोखिम नक्शा तयार पार्नुपर्छ र आगामी दिनमा ती स्थानमा गरिने उत्खनन, पुनःनिर्माण लगायतका कार्य त्यही अनुसार गर्नुपर्छ।’
 काष्ठमण्डप मन्दिरको जग सुरक्षित
महाभूकम्पले पुराना मन्दिरहरू भत्काएपछि ‘आर्कियोलोजिष्ट’ हरूको चिन्तापूर्ण आशंका थियो– जगको खराबीले संरचना भत्किएको हुनुपर्छ। तर, हनुमानढोकाको काष्ठमण्डप र पाटनको ‘चार नारायण’ मन्दिरको जगमा कुनै समस्या नभएको अन्वेषणका क्रममा थाहा भयो। भूकम्पपछि पनि दुवैको जग दुरुस्तै पाउँदा अन्वेषण टोली खुशी भयो। “हाम्रो परम्परागत निर्माण प्रविधि र सामग्री अत्यन्त भरोसायोग्य रहेछ”, टोलीमा सदस्य रहेका कोषप्रसाद आचार्य भन्छन् “कुनै पनि भूकम्पले जगमा क्षति पु¥याएको रहेनछ, यो ज्यादै खुशीको कुरा हो।”

काष्ठमण्डप १२औं शताब्दी भन्दा अगाडि बनेको अनुमान छ। जुन युगमा भए पनि त्यो बन्दा ‘नापनक्शा मिलाएर, भवन निर्माणको नियम अनुसारै’ बनेको रहेछ भन्ने अहिले देखिएको छ। काष्ठमण्डप र चार नारायण मन्दिर दुवैको जगको गहिराइ ‘ईंटाको ३६ सल’ (करीब १.८ मिटर) छ।

सम्पदा विज्ञ प्राध्यापक सुदर्शनराज तिवारी यी मन्दिरको जग वास्तुकलाको सिद्धान्त अनुसारै बनेको बताउँछन्। पहिल्यैबाट काष्ठमण्डपलाई ‘मण्डप शैली’ को मन्दिर भनी लेख्दै आएका प्रा. तिवारी नयाँ अन्वेषणले सही पुनःनिर्माणको चुनौती दिएको बताउँछन्।
 अध्ययनमा सहभागी पुरातत्व विभागका रामबहादुर कुँवर दुवै मन्दिर जगको कमजोरीले नभत्किएको स्पष्ट भएको र त्यहीं पुनःनिर्माण थाल्न सकिने बताउँछन्। अन्वेषणका क्रममा भक्तपुरको वत्सला मन्दिरको जग पनि उत्खनन गरिएको थियो। त्यहाँ भने समस्या देखिएको कुँवरले बताए। “काष्ठमण्डप र चार नारायणको जस्तो ‘इन्ट्याक्ट’ नदेखिएकोले पुनःनिर्माण गर्दा वत्सला मन्दिरको जगको मर्मत गर्नैपर्छ”, कुँवर भन्छन्।”

मध्यकालीन काष्ठमण्डप
मन्दिर, सत्तल, दरबार, पाटी जस्ता संरचनामध्ये उपत्यकाको सबभन्दा पुरानो काष्ठमण्डपको चर्चा भएको एउटा लिखत तिब्बतको गुम्बामा सुरक्षित छ।

राहुल सांकृत्यायनले सन् १९३६ मा तिब्बतको शाक्य गुम्बामा पाएको पातको पाण्डुलिपि ‘नामसंगिति’ मा ‘श्री काष्ठमाण्डपे’ उल्लेख छ। त्यो पाण्डुलिपि काठमाडौंको ब्रह्म टोलमा शुक्रबार, २४ सेप्टेम्बर ११४३ मा तयार पारिएको थियो। हेर्नुहोस (www.rebuildkasthamandap.com) त्यो मितिमा टोलको नाम नै प्रसिद्ध भइसकेकाले काष्ठमण्डपको निर्माण त्योभन्दा धेरै पहिले भएको प्रा. तिवारीको अनुमान छ।

अहिले भइरहेको वैज्ञानिक ‘डेटिङ एनालाइसिस’ ले चाँडै सही मिति पत्ता लगाउने आशा गर्न सकिन्छ। पुरातत्व शाखा प्रमुख कुँवर अहिलेको अनुसन्धानले काठमाडौं उपत्यकाका अन्य ऐतिहासिक सम्पदाहरूको पनि निर्माण मिति पत्ता लगाउने बताउँछन्।

अध्ययनमा सहभागी एक पुरातत्वविद्ले काष्ठमण्डप मध्यकालको शुरुआतमा बनेको बताए। काष्ठमण्डप रहेको ठाउँको क्रमागत विकासक्रम थाहा भइसकेको उनी बताउँछन्।

नाम उल्लेख गर्न नचाहने ती पुरातत्वविद्का अनुसार ईशाको प्रथम शताब्दीबाटै मानवीय गतिविधि भएको काष्ठमण्डप क्षेत्रमा कुनै बेला नदी रहेको अवशेष भेटिएको छ। उनी भन्छन्, “मन्दिर भने मध्यकालको शुरुतिरै बनेको देखिन्छ। यसको औपचारिक घोषणा चाँडै हुनेछ।”

प्रतिवेदनको सिफारिश
काठमाडौं उपत्यकाभित्र विश्व सम्पदा सूचीमा रहेका भक्तपुर दरबार स्क्वायरभित्रको दत्तात्रय मन्दिर, पशुपति, स्वयम्भू, बौद्ध, चाँगुनारायणलगायत स्थानमा पनि जीपीआर सर्भे गर्नुपर्छ र जोखिम नक्शा तयार पार्नुपर्छ।

हनुमानढोका, पाटन र भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सर्भेका आधारमा बनाइएको पुरातात्विक जोखिम नक्शाका आधारमा मात्र काम गर्नुपर्छ। भूकम्पले ध्वस्त बनाएको संरचनाको मर्मत पनि त्यही नक्शाका आधारमा गर्नुपर्छ।

उपत्यकाभित्र विश्व सम्पदा सूचीका जोखिमयुक्त पुरातात्विक सम्पदाको नाजुक अवस्थालाई पनि पीडीएनए (सांस्कृतिक सम्पदा) ले समेट्नुपर्छ।

जटिल र नाजुक अवस्थामा रहेका भक्तपुरका शिखर शैलीको मन्दिर, काष्ठमण्डपको काठले बनाएको सत्तल, पाटनको चार नारायण मन्दिर र भक्तपुर तथा पाटन दरबार स्क्वायरको उत्खनन गर्नुपर्छ। अन्य सम्पदा, मन्दिर, द्वार र स्तूपको संरचना र जगको निर्माणमा प्रयोग भएका सामग्री, प्रविधिको अध्ययनबाट पुनःनिर्माणमा सहयोग पुग्नेछ। ऐतिहासिक मन्दिरहरूको आन्तरिक संरचना र जगको डिजाइनबारे जान्नका लागि उच्च प्राथमिकताका साथ तिनको उत्खनन गर्नुपर्छ।

हनुमानढोका र पाटन दरबार स्क्वायरका संरचनाको नाजुक अवस्थाले गर्दा त्यहाँ पुनःनिर्माण वा अन्य विकासका कार्य गर्नुअघि ‘पुरातात्विक हस्तक्षेप’ गर्नुपर्छ। हनुमानढोका र भक्तपुर दरबार स्क्वायरमा टेकोले धानिएका जीर्ण स्मारकको नजिकैबाट भइरहेको मालबाहक सवारीको आवागमन रोकिनुपर्छ।

चार नारायण मन्दिरको निर्माण संरचनाबारे थाहा पाउन थप पुरातात्विक अन्वेषण गर्नु जरुरी छ। निर्माणमा प्रयोग भएका वस्तु र परम्परागत प्रविधिको विश्लेषण गर्नुपर्छ।

काष्ठमण्डपको दक्षिणतिर माटो परीक्षणका लागि ड्रिलिङ गर्दा फुटेको खानेपानीको पाइप तत्काल मर्मत गर्नुपर्छ। त्यहाँको पानी चुहिएर स्मारकको जगमा गइरहेकाले त्यसले जगका ईंटाहरूलाई कमजोर बनाउँछ।

काष्ठमण्डपमा गरिएको अन्वेषणले स्पष्ट चित्र प्रस्तुत गरेको भए पनि त्यो सानो क्षेत्रमा गरिएकाले त्यहाँको संरचनाबारे पूर्ण जानकारी लिन त्यहाँ रहेका अन्य सम्पदाको पनि उत्खनन अनुसन्धान गरिनुपर्छ। त्यहाँ ठूलो ट्रेन्च बनाएर गरिने उत्खननले आर्किटेक्चर योजना, निर्माणको चरण र पुनःनिर्माणको तरीकाबारे जान्न सकिनेछ।

तीन वटै दरबार स्क्वायरमा ठूलो मात्रामा रहेका काठ, ढुंगा र ‘टेराकोटा’ का वस्तुलाई संरक्षण कार्यकै अर्को प्रोजेक्टका रुपमा लिई सूचीकृत र सफा गर्नुपर्छ। यसरी सूचीकृत (क्याटलगिङ) गर्दा पुरातत्व विभाग, युनेस्को र महानगरपालिकाका निश्चित व्यक्तिको मात्रै पहुँच पुग्ने गरी सेन्ट्रल डेटाबेसमा राख्नुपर्छ। 

तपाईंको बिचार