Saturday, June 24, 2017  |    

झिलमीलामा पर्यटकको आगमन बढ्दै

प्रकाशित मिति: 2016/05/26
जेठ १३, कञ्चनपुर । भीमदत्तनगरपालिका–९ मा रहेको पर्यटकीय क्षेत्र झिलमिलामा मोटर पुगेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।
 
जिविसले विसं २०५६ सालमा उक्त सडक निर्माण कार्य सुरु गरेको थियो । सडकको बीच बीचमा ठुलठुला खाल्टाखुल्टीका कारण पछिल्लो समय सवारी साधन सञ्चालन हुन सकेका थिएनन् । अहिले स्थानीय बासिन्दाले नौ किलोमिटर सडक मर्मतसम्भार गरी सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।
 
झिलमिला तालको जैविक विविधतामा खतरा नपुगोस् भनेर चेतनामूलक होर्डिङ बोर्ड र सरसफाइसम्बन्धी विशेष अभियानसमेत सञ्चालन गरिएको छ । भूगर्भ विभागको टोलीले पहिलो पटक तालको गहिराइको समेत मापन गरेको छ । उक्त तालको बीच भागको गहिराई १५ मिटर, पूर्वतर्फ १४ मिटर र पश्चिमतर्फको गहिराई १६ मिटर रहेको पाइएको छ ।
 
यात्रुको सहजताका लागि सडकका ठाउँठाउँमा पथप्रदर्शक सूचकसमेत राखिएका छन् । सडकको सहजतासँगै झिलमिला ताल क्षेत्रको अवलोकन गर्न र प्राकृतिक दृश्य नियाल्नका लागि स्वदेशी र भारतीय पर्यटकको चहलपहल बढ्न थालेको छ । सडकको सहज उपलब्धता नहुँदा विगतमा पर्यटकले भीमदत्तनगरपालिकाको मटैनादेखि झिलमिला ताल क्षेत्रसम्म पुग्नका लागि पैदल हिँड्नु परेको झिलमिला ताल संरक्षण समितिका अध्यक्ष मोतिसिंह महताले बताए ।
 
सडक बनेपछि महेन्द्रनगरदेखि झिलमिलासम्मको करिब २५ किलोमिटर दूरी एक घन्टामै तय गर्न सकिने भएको छ । झलमिला ताल छिनछिनमै रङ बदल्ने हुँदा यसलाई नियाल्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् ।
 
सिद्ध बाबाको तपोभूमिका रुपमा परिचित झिलमिला क्षेत्र धार्मिक क्षेत्रका रुपमा समेत परिचित छ । झिलमिला तालको लम्बाइ करिब ५०० मिटर र चौडाइ १५० मिटरसम्म रहेको बताइएको छ ।
 
 

तपाईंको बिचार