Thursday, May 25, 2017  |    

ठमेल सुधारको अभियान सञ्चालन

प्रकाशित मिति: 2016/05/30

जेठ १७,काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आह्वान तथा नेपाल केवल टेलिभिजन महासङ्घको पहलमा ठमेल क्षेत्रमा रहेको तारको व्यवस्थापन कार्य सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ महानगरपालिकालगायत अन्य सङ्घ संस्था तथा कम्पनीको सहयोगमा पोलमा रहेको तार र पोललाई व्यवस्थित गर्ने काम  सुरु भएको हो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले ठमेल क्षेत्रका पोलमा तार अस्तव्यस्त भएको र विदेशी पर्यटकले समेत फोटो खिचेर लाने गरेको भन्दै तार तथा पोलको व्यवस्थापन गर्न लागिएको बताए । नेपाल केवल टेलिभिजन महासङ्घका कार्यकारी निर्देशक राधेश्याम लेकालीले पछिल्लो समयमा काठमाडौँ उपत्यकामा नै तार अस्तव्यस्त अवस्थामा रहेकाले व्यवस्थित गर्न लागिएको बताए । ठमेल क्षेत्रमा दैनिक भीडभाड नहुने समय पारेर दुई दर्जभन्दा बढी प्राविधिक समूहले तार व्यवस्थापनको काम गरिरहेका छन् । तार व्यवस्थापनका लागि पर्यटनसम्बन्धी विभिन्न सङ्घसंस्था, सरोकारवाला तथा स्थानीयवासीको सहयोग रहेको छ । ठमेलको साँघुरो बाटो र अव्यवस्थित बसोबासका कारण कतिपय पोल जीर्ण भएका, बिजुलीको र केवलको तार सँगसगै भएको र कुनै पनि बेला दुर्घटना निम्त्याउनसक्ने हुँदा तार व्यवस्थापनको काम जरुरी भएको थपलियाको भनाइ छ ।

तपाईंको बिचार