Thursday, March 30, 2017  |    

हिमालपारिका कर्मचारीको अनुभव

प्रकाशित मिति: 2016/05/30

जेठ १७ काठमाडौं ।  नेपालगन्जका बासिन्दा मधुकरजंग शाहका लागि हिमालपारिको जिल्ला मनाङको बसाइ भौगोलिक कारणले सहज नहुनुपर्ने हो । मनाङस्थित जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा शाहका लागि यो ठाउँ झन्डै झन्डै बस्नै नसकिने, टिक्नै नसकिने, कुनै  स्रोतसाधन नभएको, समय बिताउन पनि मुस्किल हुनु आफैँमा अस्वाभाविक पनि होइन । तर, शाहका लागि मनोरञ्जन र मन बहलाउने भौतिक सुुविधाको अभाव रहेको मनाङ नै बिदा सदुपयोग गर्ने भरपर्दो माध्यम बन्न पुगेको छ ।  
शाहजस्तै मनाङमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारीका लागि यो जिल्ला प्रत्येक साता नियमित बिदाको उपयोग गर्ने अवसर क्षेत्र पनि हो । बिदाको सदुपयोगमा कर्मचारीका लागि नजिकैको लमजुङ हिमालको बेस क्याम्प, स्वर्गद्वारीको  फेदी ढुकुरपोखरी, उपल्लो मनाङ अनि ०२६ सालतिर फेला परेका नार र फु गाउँको यात्रा रोमाञ्चक बन्न पुग्छ ।

शुक्रबार कार्यालय बन्द गरेर हिँडेपछि युवा कर्मचारीको समूह आइतबार बिहान कार्यालय समय भ्याउन आइपुग्छ । मनाङका अधिकांश गाउँमा होटल र होमस्टे सञ्चालित छन् । आन्तरिक पर्यटकलाई सुतेको भाडा लिँदैनन् । मनाङको जनसंख्या ६ हजार ४ सय  २५ मा पनि आधाजसो जिल्ला बस्दैनन् । अधिकांश अध्ययन(व्यापारका लागि काठमाडौँ, पोखरालगायतका सहरका साथै वैदेशिक रोजगारका सिलसिलामा विदेश छन् ।

१३ वटा मात्र गाविस रहेको सानो जिल्ला हो, मनाङ । सदरमुकाम चामेबाट दुई घन्टादेखि बढीमा दुई दिनसम्म हिँडे जिल्लाका सबैभन्दा दुर्गम नार र फु गाविससम्म पुग्न सकिन्छ ।

सदरमुकामस्थित विभिन्न संघसंस्था, सरकारी कार्यालयमा कार्यरत युवा कर्मचारीले एउटै परिवारजस्तो व्यवहार मात्र गर्दैनन्, संयुक्त मेसमा खान्छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत स्याङ्जा निवासी विकास लम्साल भन्छन्, “बिदा आउनुअगावै  फोन गरेर वा भेटेर यसपालि कता जाने भन्ने सल्लाह हुन्छ ।“

मनाङमा विश्वकै सुन्दर र आकर्षक गन्तव्य छन् । ४ हजार १ सय १९ मिटर उचाइको तिलिचो ताललगायत सयौँ वर्ष पुराना दर्जनौँ गुम्बा, गुफा, घले राजाको दरबार । “कतिपय स्थान कार्यालयकै काममा घुम्न भ्याइन्छ भने कतिपय स्थानका लागि बिदाको  सदुपयोग गर्नुपर्ने हुन्छ,“ दाङकी विमला डीसी भन्छिन्, “मनाङ रहुन्जेल तीन दर्जन स्थान पुगेरै छाड्छु ।“

जिल्लामा सबैभन्दा कम घरधुरी भएको गाविस फु हो । जम्माजम्मी ३९ घरधुरीको एउटै टोललाई सिंगै गाविस कायम गरिएको छ । गाविसमा ९१ जना पुरुष र १ सय १ जना महिलासहित जम्मा १ सय ९२ मात्रै जनसंख्या छ । सबैभन्दा बढी सदरमुकाम चामेमा  २ सय ७८ घरधुरीमा १ हजार २ सय ४ जनाको बसोवास छ । कतिपय गाउँमा साला(भेना, मामा(भान्जा, ससुरा र ज्वाइँको मात्र परिवार मिलेर एउटा वडा बनेको छ ।

विश्वप्रसिद्ध अन्नपूर्ण पर्यटकीय पदमार्गले मनाङका नार र फुबाहेक सबै गाविस छुन्छ । याकखर्क, थोराङ पास हुँदै मुस्ताङ जाने पदमार्ग पनि यही हो । लमजुङको बेसीसहरबाट भुलभुलेसम्मको ३३ किलोमिटर कच्ची सडकमा सार्वजनिक यातायात नियमित छ । यो  पदमार्गमा वाषिर्क एक लाखसम्म विदेशी पर्यटक भित्रिने गरेको स्थानीय विकास अधिकारी भरत अर्याल बताउँछन् ।

मनाङमा विदेशीको ओइरो लागे पनि नेपाली त्यति नआउने जिविस मनाङका नायब सुब्बा पशुपति न्यौपानेको अनुभव छ । पोखराका पशुपतिले यतै विवाह गरी पिसाङमा होटल अन्नपूर्ण भ्यु सञ्चालन गरेका छन् । माथिल्लो मनाङका सात गाविसका बासिन्दा अन्य  जिल्लावासीलाई जग्गा बिक्री गर्दैनन् । जग्गा किन्ने भए छोरी(बहिनी विवाह गरी ’माक्पा’ (घरज्वाइँ)का रूपमा बस्नुपर्छ । यसरी माक्पा बस्नेमा छिमेकी जिल्ला गोरखादेखि लमजुङ, पोखरा, काठमाडौँ र सोलुखुम्बुसम्मका युवक छन् ।

 

तपाईंको बिचार