Friday, April 28, 2017  |    

बाघ मार्ने हतियारसहित तीनजना पक्राउ

प्रकाशित मिति: 2016/05/31

जेठ १८, बाँके । प्रहरीले बाँकेको कोहलपुरबाट बाघ मार्न प्रयोग हुने जत्री (पासो) सहित तीनजना बन्जारा समुदायका व्यक्तिलाई पक्राउ गरेको छ ।
कोहलपुर प्रहरी र बाँके राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले कोहलपुर–११ लोकनगरबाट १७ जेठमा बाँके इन्द्रपुर–३ का १९ वर्षीय रामु कुसबदिया, ४५ वर्षीय सम्भर कुसबदिया र नेपालगञ्ज–७ फुल्टेक्राका विष्णु कुसबदियालाई पक्राउ गरेको हो ।
उनीहरुका साथबाट ३ थान जत्री (पासो), १ थान भाला, १ थान हतौडा र दारा सहितको हड्डी (२.५ इन्च लम्बाई, ३ इन्च चौडाई) बरामद भएको छ । उक्त हड्डी बाघको भएरनभएको पुष्टि हुन बाँकी छ ।
बरामद भएका जस्ता औजार बाघ मार्ने समूहले प्रयोग गर्दै आएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
बाँके निकुञ्ज आसपासमा रहेका बन्जारा समुदायका व्यक्तिलाई निगरानी गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको बाँके निकुञ्ज पश्चिम सेक्टर कार्यालयका रेन्जर अनिल कुमार रामले जानकारी दिए ।
पक्राउ परेकालाई प्रहरीले जिल्ला वन कार्यालय बाँकेमा बुझाएको छ ।
जिल्ला वन कार्यालयले आज (१७) जेठमा जिल्ला अदालतमा ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको सूचना अधिकारी गणेश खड्काले जानकारी दिए ।
यसअघि १४ जेठमा कोहलपुर–११ बाटै भारतीय बन्जारा समूहका दुईजनालाई पक्राउ गरिएको थियो ।
 

 

तपाईंको बिचार