Sunday, March 26, 2017  |    

खराब मौसमका कारण ४ दिनदेखि सगरमाथा आरोहि लुक्लामा

प्रकाशित मिति: 2016/06/01

जेष्ठ १९, सोलुखुम्बु ।  प्रतिकूल मौसमका कारण चार दिनदेखि सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट उडान प्रभावित हुँदा कम्तीमा २ सय पर्यटक त्यहाँ रोकिएका छन् ।

पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार एक सातायता बिग्रेको मौसमका कारण सगरमाथा आरोहण सकेर फर्किने आरोही, शेर्पा, गाइड, भरिया लगायतका सयौं यात्री लुक्ला र त्यस माथिका क्षेत्रमा रोकिएका छन् ।  

एयरपोर्टले जनाएअनुसार काठमाडौंबाट लुक्ला जाने बाटो (इनरुट) मौसममा खराबी छैन । विमानस्थलको मात्रै मौसम ब्रिग्रिएकाले जहाज अवतरण गराउन कठिनाइ भइरहेको छ । एकातर्फबाट मात्रै उडान अवतरण गर्न सकिने (स्टल) विमानस्थल लुक्लामा चालकले (भीएफआर) प्रविधिको सहायतामा जहाज अवतरण गराउन सक्दैन ।  

यती एयरलाइन्सका प्रबन्धक भीमराज राईका अनुसार चार दिनदेखि उडान अवरुद्ध हुँदा सबैभन्दा धेरै विदेशी यात्रुको चाप वायुसेवा कम्पनीहरूले खेप्नु परिरहेको छ । लुक्लाका लागि हाल ताराका दुई, सीताका दुई र गोमाको एउटा जहाज छन् । यी विमानबाहेक ८ वटा साना हेलिकप्टरले पनि यात्रु ओसारिरहेको वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले बताए ।  
लुक्लाबाट सबैभन्दा धेरै उडान भर्नेमा तारा एयर पर्छ । प्रबन्धक राईका अनुसार मंगलबार ताराले लुक्ला–काठमाडौं १० वटा उडान भर्ने तालिका थियो तर खराब मौसमका कारण काठमाडौंबाट विमान पठाउन सकिएन । यति बेला काठमाडौंबाट जाने विमान जाँदा रित्तो उड्छ भने फर्किंदा यात्रु भरेर फर्किन्छ । ‘यसपटक दिनको ६० वटा उडानसम्म भए हेलिकप्टरको उडानसमेत जोडदा १ सय ५० सम्म पुग्यो,’ विमानस्थल प्रमुख श्रेष्ठले भने । नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्ला आन्तरिक विमानस्थलहरूमा सबैभन्दा धेरै उडान भर्ने विमानस्थलमा पर्छ । यस विमानस्थलबाट एक दिनमा १ सय ५० वटा सम्म उडान भएको रेकर्ड छ ।

नेपाली वायसेवा कम्पनीहरूले प्रतिनेपाली यात्रु ४ हजार ९ सय ८५ रुपैयाँ लिने गर्छन् भने विदेशीबाट एकतर्फी १ सय ६१ डलर लिने गर्छन् । चार्टर हेलिकप्टरले काठमाडौं–लुक्ला–काठमाडौं उडान भरेको २२ सयदेखि २४ सय डलरसम्म लिने गरेको संघका अध्यक्ष कार्कीले जानकारी दिए ।


 

तपाईंको बिचार