Monday, May 1, 2017  |    

सार्क ग्रामीण पर्यटन कार्यशाला काठमाडौंमा

प्रकाशित मिति: 2016/06/02

जेठ २०, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशाला आज सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गरे ।
उनले ग्रामीण पर्यटनको मुख्य आधार घरबास पर्यटन भएको र यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्री पोखरेलले भने– सार्क क्षेत्रका जनताबीच पारस्परिक सम्बन्ध पढाउन द्विपक्षीय तथा बहुपक्षीय सहयोग विस्तार गर्न पनि ग्रामीण पर्यटन आधार हो ।
दक्षिण एसियामा ग्रामीण पर्यटनका विकासका प्रशस्त्र आधारहरु भएको उल्लेख गर्दै उनले यसक्षेत्रमा सांस्कृतिक, धार्मिक सम्पदा र ऐतिहासिक स्थल अपार रुपमा रहेको चर्चा गरे ।
ग्रामीण पर्यटन विश्वमै वातावरणमैत्री हुनुका साथै गरिबी निवारणमा समेत सहयोग पुग्ने भएकाले निकै महत्वपूर्ण भएको मन्त्री पोखरेलको भनाइ थियो ।
उनले दिगो पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०१६ घुमफिर वर्षका रुपमा घोषणा गरिसकेको र कार्बनविहीन पर्यटनमार्फत दक्षिण एसियाकै आर्थिक विकासमा मद्दत पुग्ने बताए ।
कार्यशालाले सार्क राष्ट्रका ग्रामीण पर्यटनमा गरिएका प्रयास, आ–आफ्ना देशको अनुभव आदानप्रदान गरी सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई बलियो बनाएर आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सार्क सचिवालयका निर्देशक रीता धितालले ग्रामीण पर्यटनसम्बन्धी सार्कस्तरीय कार्यशालाले ती देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोगका साथै पर्यटन प्रवर्द्धनमा आ–आफ्नो देशको अनुभव आदानप्रदानबाट थप अघि बढ्न सहयोग पुग्ने उल्लेख गरिन् ।
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा धेरै महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदा रहेको र विश्वकै आकर्षण गन्तव्यमा नेपाल रहेको बताए ।
कार्यशालामा सार्क राष्ट्रहरु नेपाल भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका दुई÷दुई जनाको सहभागिता रहेको छ भने कार्यशालामा आ–आफ्नो देशमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
एकदिने कार्यशाला भए पनि शुक्रबार नेपालको घरबास पर्यटनको नमुना स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

तपाईंको बिचार