Monday, October 23, 2017

अवैतानिक दूतहरूको सम्मेलन गर्ने तायारीमा सरकार

प्रकाशित मिति: 2016/06/02

जेठ २०,काठमाडौं ।  बाह्य मुलुकमा रहेका नेपालका अवैतनिक दूतहरूको पहिलो सम्मेलन काठमाडौंमा हुने भएको छ । पर्यटन क्षेत्रको विकास र लगानी प्रवर्द्धन गर्न २१ मुलुकमा नेपालका ४१ भन्दा बढी अवैतनिक दूत छन् । उनीहरूलाई राजनीतिक अवस्था, सरकारको नीति, आर्थिक कूटनीति, पर्यटनमा लगानी, जलविद्युतको सम्भावना र सम्बन्धित देशमा बसेर गर्ने कार्यका बारेमा जानकारी दिन सम्मेलन गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो सम्मेलन चार वर्षदेखि गर्ने भनिए पनि बजेट तथा समन्वयकारी भूमिकाको अभावलगायत कारण सम्भव भएको थिएन । यस पटक भने सरकारले सम्मेलन गर्न बजेट नै छुट्याएको छ ।    
सरकारले कूटनीतिक सम्बन्ध कायम भएकामध्ये नेपाली रहेका र नेपालमा पर्यटक आउने मुलुकका विभिन्न सहरमा अवैतानिक दूत नियुक्त गरेको छ । कतिपयलाई अवैतनिक महावाणिज्य दूत र कतिपयलाई अवैतनिक वाणिज्य दूतको पत्र दिइएको हुन्छ । नेपालका ४१ भन्दा बढी अवैतनिक दूतमध्ये ११ जना अमेरिकाका विभिन्न सहरमा छन् ।
सम्मेलनको तिथिको तयारी सहज नभएकाले सबैसँग सुझाव मागिएको अधिकारीहरूले जनाएका छन् । भूकम्पपछि कतिपय मुलुकहरूमा नेपालबारे अझै नकारात्मक धारणा रहेकाले त्यसलाई चिर्न पनि अवैतानिक दूतहरूसँग सुझाव लिने र थप उत्साहित बनाउने काममा मन्त्रालय लागेको हो । नेपालको कूटनीतिक सम्बन्ध कायम भएका मुलुकको संख्या एक सय ४३ रहेको भए पनि २९ मुलुकमा मात्र दूतावास छ भने २ स्थानमा राष्ट्रसंघीय नियोग छन् । यस्तै, चार महावाणिज्य दूतावास र एक वाणिज्य दूतावास गरी ३६ सरकारी नियोगहरू विदेशमा छन् ।


 

तपाईंको बिचार