Sunday, March 26, 2017  |    

आन्तरीक भ्रमण वर्षको गन्तव्य ताप्ली ताल

प्रकाशित मिति: 2016/06/04

जेठ २२,उदयपुर ।  सगरमाथा अञचलको उदयपुर जिल्लामा रहेको धार्मिक तथा पर्यटकीय महत्वको ताप्ली ताल उदयपुरको सान हो ।   उदयपुर जिल्लाको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४र५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा लेखगाउँ गाविसमा छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ । 

 
समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहे पनि यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । सदरमुकाम गाईघाटदेखि डेढ दिनको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । गाडीमा भने सदरमुकामदेखि एकदिनमै आउजाउ गर्न सकिन्छ। 

दुर्गम क्षेत्रमा भए पनि यसको प्राकृतिक बनावट चित्ताकर्षक छ। ७५ मिटर चौडाइ तथा ३ सय २० मिटर लामो र ३ मिटर गहिराइ भएको यस पोखरीमा सफा मौसममा पुग्दा पोखरीको सङ्लो पानीमा नीलो आकाशको छाया ज्यादै लोभलाग्दो देखिन्छ। पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । यसैगरी हरियो चउरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन् । बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् । 

जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । तुसारो परिरहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । ताप्ली पोखरीको दक्षिणतर्फ हेर्दा भारतसम्मका सहरहरू अवलोकन गर्न सकिन्छ । 

यो पोखरी किनारमा भ्यू–टावरसमेत निर्माण भैरहेको छ । यहाँको आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमकाहरु हुन् । लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पञ्चकन्या मन्दिरमा पूजाआजा गरे रोगव्याधि निको हुने जनविश्वास छ । ताप्ली पोखरीले पूर्वाञ्चलमा धार्मिक पर्यटकको सम्भावना बोकेको छ । तत्कालीन माओवादीले यो स्थानबाटै पूर्वी डिभिजनको घोषणा गरेको राजनैतिक इतिहास पनि छ ।

यत्तिका बिशेष्ताहरु बोकेको यस् ठाउँको भने जस्तो प्रचार(प्रसार हुन सके ताप्ली पोखरीले उदयपुर जिल्लाको पर्यटन क्षेत्रलाई उथान गर्ने नै थियो अर्को कुरा घुमफिर बर्ष २०७३ लाई समेत ठुलै टेवा पुग्ने थियो कि  .  

तपाईंको बिचार