Sunday, March 26, 2017  |    

अन्तरराष्ट्रिय पर्यटकको संख्यामा ४.४ प्रतिशतले बृद्धि

प्रकाशित मिति: 2016/06/05

जेठ २३,काठमाडौं । अन्तरराष्ट्रिय पर्यटक आवागमन सन् २०१४ मा भन्दा सन् २०१५ मा ४.४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तरराष्ट्रिय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस आफ्नो देश छाडेर बिदेश घुम्न निस्किएका थिए ।

जुन गत वर्षभन्दा ४.४ प्रतिशतले बढी हो । सन् २०१५ मा सन् २०१४ को भन्दा ५ करोड बढी पर्यटकले घुमेका छन् । “विश्वभर पर्यटक आगमनदर वृद्धि हुँदै जाँदा विश्वको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै रोजगारी वृद्धिमा ठूलो सहयोग गरेको छ,” यूएनडब्लूटीओका महासचिव तालेब रेफाइले भने ।

पछिल्लो समय पर्यटनसम्बन्धी नीतिगत सुधार हुँदै जानु तथा सेवामुखी उद्योगको विकास हुनुले पर्यटक संख्या वृद्धि भएको रेफाइले बताएका छन् । युरोप, अमेरिकमा, एसिया तथा प्रसान्त क्षेत्रमा पर्यटक आगमन ५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तैगरी मध्यपूर्वी देशमा ३ प्रतिशितले वृद्धि भएको छ भने अफ्रिका लगायत अन्यमुलुकको वृद्धिसमेत ३ प्रतिशत छ । त्यस्तै घुम्न जाने देशहरूमा एसिया तथा प्यासिफक र अमेरिकाका ४ देखि ५ प्रतिशले वृद्धि भएको जनाइएको छ । त्यस्तैगरी युरोपबाट घुम्न निस्कनेमा ३.५ प्रतिशतदेखि ४.५ प्रतिशत वृद्धि भएको छ भने अफ्रिकन मुलुकका २ देखि ५ प्रतिशत र मध्यपूर्वमा पनि २ देखि ५ प्रतिशतले वृद्धि देखिएको थियो ।

विश्वभर पर्यटक बढ्दा नेपालमा भने  घटे

विभिन्न मुलुकबाट सन् २०१५ मा पाँच लाख ३८ हजार ९ सय ७० जना पर्यटक मात्रै नेपाल भित्रिए । जुन अघिल्लो वर्षको तुलनामा झण्डै साढे दुई लाखले कम हो । विश्वभर पर्यटक बढ्दा नेपालमा भने भूकम्प र भारतीय नाकाबन्दीका कारण सन् २०१५ मा विदेशी पर्यटकको आगमन घटेको हो ।  

सन् २०१५ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कम हो । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक नेपाल भित्रिएका थिए ।   

तपाईंको बिचार