Monday, August 21, 2017  |    

आन्तरिक पर्यटक आर्कषित गर्दै जेफालेडाँडा

प्रकाशित मिति: 2016/06/05

जेठ २३, काठमाडौं ।  उत्तरी मोरङको सिंहदेवी गाविस वडा नं ५ मा रहेको जेफालेडाँडामा होमस्टे सञ्चालन भएपछि पर्यटक आकर्षित हुन थालएका छन्। थोरै समय र बजेटमा पर्याप्त मनोरञ्जन र रमणीय स्थल सिंहदेवी जेफालेडाँडाको  दृश्यावलोकन गर्न सकिने हुँदा यहाँ ठाउँमा घुम्न आउने पर्यटक बढ्न थालेको हो । 

सिंहदेवी गाविसमा रहेको भ्यू टावर पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिन्छ । उक्त स्थानबाट १६ जिल्ला सहजै अवलोकन गर्न सकिन्छ भने भारतका केही स्थानसमेत देख्न पाइन्छ ।

स्थानीय होमस्टे व्यवसायी भीमबहादुर ठकुरीका अनुसार जेफाले क्षेत्रमा पाँच वटा होमस्ट सञ्चालनमा छन् । तर आन्तरिक तथा बाह्य पर्यटकलाई पर्याप्त मात्रामा आवास नहुँदा समस्या भएको स्थानीय होमस्टे सञ्चालकहरु बताउँछन् । 

 

सो क्षेत्रमा ४५ जनाको समूहलाई सहज र सुलभ तरिकाले खान र बस्नको सुविधा रहेको जेफाले पर्यटन विकास समितिका सचिव भीमबहादुर ठकुरीको भनाइ छ । खानेपानीको समस्याका कारण पर्यटकलाई समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । गर्मीयाममा पनि मुटु काम्ने जाडो जेफालेको विशेषता रहेको हो । धनकुटा र मोरङको सिमानामा पर्ने जेफालेमा पर्यटक आउने क्रम बढिरहेको छ ।

धार्मिक र सांस्कृतिक मानिएको पाथिभारा मन्दिर, ऐतिहासिक किंवदन्ती रहेको तीनचाने ढुङ्गा र होमस्टेको अवलोकन, रात्रिकालीन सांस्कृतिक नित्य र मनोरञ्जन लिन सक्ने समितिका सचिव ठकुरी बताउँछन् ।

पूर्वी मोरङको महेन्द्र राजमार्गमा पर्ने खोर्सानेदेखि लगभग ४० किमी उत्तर पूर्वमा रहेको यो सुगम जिल्लाको दुर्गम गाविस हो ।   

तपाईंको बिचार