Friday, July 28, 2017  |    

क्यानोनिङ महोत्सव सम्पन्न,नेपालीको आर्कषण बढ्दो

प्रकाशित मिति: 2016/06/05

जेठ २३, नुवाकोट ।  साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ ।

राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो । दक्ष क्यानोनिङ प्रशिक्षकले उनीहरुलाई सफलतापूर्वक छाँगावरोहणको प्राविधिक र व्यावहारिक ज्ञान दिएको प्रशिक्षक डवीन्द्र लामाले बताए ।  

संस्थाले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ । नेपालमा स्वदेशी तथा विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन् ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।

 सो झरनामा दशदिने क्यानोनिङ प्रशिक्षक प्रशिक्षण पनि जारी छ । त्यसमा दश जनाको सहभागिता छ । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहण जस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादन तयार गर्ने उद्देश्य रहेको संस्थाका महासचिव राजेश लामा तामाङले बताए ।

जलयात्रा, पदयात्रा, पर्वतारोहरणसँगै नेपालमा पछिल्लो समयमा नयाँ पर्यटकीय गतिविधिका रुपमा डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेलप्रतिको आकर्षण बढ्दो छ ।
 

तपाईंको बिचार