Sunday, March 26, 2017  |    

वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन संयुक्त अपरेसनमा सेना र निकुञ्ज

प्रकाशित मिति: 2016/06/05

जेठ २३, चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको  वन्यजन्तु संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन पहिलो पटक चितवनमा संयुक्त संरक्षण अपरेसन कक्ष  सञ्चालन गरिएको छ ।
नेपाली सेना र चितवन निकुञ्जले यसअघि आ–आफ्नै तरिकाले संरक्षण कार्य र चोरी–सिकार नियन्त्रणका गतिविधि सञ्चालन गरिरहेका थिए । तर अब भने संयुक्त रुपमा अघि बढ्ने गरी अपरेसन कक्ष  सञ्चालन गरिएको हो ।
विश्व वातावरण दिवसका अवसरमा उक्त कक्ष स्थापना गरिएको हो । आज उक्त कक्षको प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले उद्घाटन गरे । उद्घाटनपछि उनले अपरेसन कक्षले संरक्षणमा थप उचाइ मिल्ने विश्वास गरे । यसअघि नेपाली सेनाले यहाँ नेपालमै पहिलो पटक प्रकृति संरक्षण शिक्षालय स्थापना गरिसकेको छ ।

निकुञ्जको मुख्य कार्यालय नजिकै स्थापना गरिएको अपरेसन कक्षमा निकुञ्जका कर्मचारी र नेपाली सेनाका गरी पाँच जना चौबिसै घन्टा रहने निकुञ्जले जनाएको छ । उनीहरु उक्त संयुक्त कक्षमार्फत संरक्षण क्रियाकलापमा नियमित खटिने छन् । चितवन निकुञ्जमा २०७१ साल वैशाख २० गतेदेखि अहिलेसम्म २ वर्षभन्दा बढी समयमा वन्यजन्तुको चोरी–सिकार नभएको भन्दै निकुञ्जले संरक्षणमा खटिने सबैप्रति आभार प्रकट गरेको छ ।

सोही उपलब्धिलाई जगेर्ना गर्न विश्व वातावरण दिवसको सन्दर्भमा आज निकुञ्जमा शून्य चोरी–सिकार वर्षसमेत मनाइएको छ । संरक्षणमा यसैगरी अघि बढ्नसमेत सबैमा निकुञ्जले आग्रह गरेको छ । पछिल्लो समयमा चितवन निकुञ्जले प्रविधिको भरपूर उपयोग गरी संरक्षण कार्य अघि बढाउँदै आएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
 

तपाईंको बिचार