Monday, July 24, 2017  |    

पर्यटन मन्त्रालयलाई ५ अर्ब वजेट, २१ ओटा कार्यक्रम प्राथमिकतामा

प्रकाशित मिति: 2016/06/07

जेठ २५, काठमाडौं । पर्यटन मन्त्रालयमातहतका विभिन्न कार्यालय तथा विभागअन्तर्गतका आयोजनाका निम्ति ५ अर्ब बजेट विनियोजन गरिएको छ ।  विनियोजित पाँच अर्ब बजेटमध्ये चार अर्ब १६ करोड रुपैयाँ पहिलो प्राथमिकतामा समाबेश गरिएका २१ ओटा कार्यक्रमको लागि छुट्टयाइएको छ ।  छ  ।    

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३० वटा कार्यक्रममध्ये बाँकी नौ कार्यक्रम दोस्रो र तेस्रो प्राथमिकतामा छन् । मन्त्रालयका अधिकांश कार्यक्रम तथा योजनालाई पहिलो प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट विनियोजन गरेको हो । चालू आर्थिक वर्षमा साढे चार अर्बको बजेट छुट्याइएकोमा चालू खर्च ३३ प्रतिशत र विकास खर्च १९ प्रतिशतमात्रै हुने अनुमान रहेको छ ।
सरकारले आगामी आवका लागि मन्त्रालयअन्तर्गतको दक्षिण एसिया पूर्वाधार विकास आयोजनालाई ४१ करोड रुपैयाँ विनियोजन गरेको छ।  पर्यटन पूर्वाधार र विकाससम्बन्धी लगानी गर्ने र विदेशी सहयोग जुटाउने नाममा स्थापना भएको यो संस्थाले  हालसम्म भैरहवा विमानस्थल निर्माणका लागि एसियाली विकास बैंकको रकम नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत  उपलब्ध गराउने कार्य गरेको छ । मन्त्रालयले आगामी वर्षका लागि राखेको संस्कृति प्रबर्धन कार्यक्रमका लागि १ अर्ब, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई  २ करोड, पर्वतीय पर्यटन तथा प्रबर्धन आयोजनालाई ७७ लाख, दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजनामा नेपाल सरकारले खर्च गर्ने तीन करोड, नेपाल प्रज्ञाप्रतिष्ठानको ९५ करोड, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको ४५ करोड, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको ५४ करोड र इच्छुक सांस्कृतिक प्रतिष्ठानको ३५ लाख रुपैयाँको बजेटको कार्यक्रमबाहेक सबै आयोजना तथा कार्यक्रम प्राथमिकताको पहिलो श्रेणीमा छन् ।

सरकारले पर्यटकीय पूर्वाधारअन्तर्गतको विमानस्थलमा खर्चने रकम भने मन्त्रालयमातहत जोडेको छैन । यसलाई सरकारले सीधै सम्बन्धित निकायबाट खर्च गराउने गरी बजेट विनियोजन गरेको छ । विमानस्थलको बजेट खर्च गराउने आधिकारिक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो ।  
मन्त्रालयको प्रगति विवरणमा २० वटा आयोजनामध्ये अघिकांशको एक वर्षको प्रगति विवरण सन्तोषजनक नरहेको उल्लेख छ ।

तपाईंको बिचार