Sunday, March 26, 2017  |    

ढुम्बातालमा पानीकोसतह घट्दा पर्यटन व्यवसाय प्रभावित

प्रकाशित मिति: 2016/06/08

जेठ २६,मुस्ताङ ।  मुस्ताङकोे ढुम्बातालमा पानीको सतह घटेको छ । मुस्ताङको सदरमुकाम अवस्थित जोमसोम गाविसको ९ नम्बर वडामा पर्ने धुम्बा तालमा पानीको सतह घट्दै गएको हो  

करिब चार सय मिटर लम्बाई र एक सय मिटर चौडाई भएको तालमा पानीको मात्रा पहिलेको तुलनामा आधाले घटेको छ । करिब दश मिटर गहिरो तालमा संकलन हुने पानीको मुहान सुकेपछि पानीको सतह घटेको हो ।  

 

जोमसोम बजार नजिकै रहेको धुम्बाताल पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकका लागि गन्तब्य स्थलको रुपमा विकास हुदै गएको थियो । ताल सुक्दै जानथालेपछि पर्यटन ब्यवसाय प्रभावित हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) जोमसोमकी रेञ्जर धनु गुरुङले बताए । तालमा रहेका रहेका माछा, हाँस लगायत जलचर संकटमा परेका छन् । तालमा पानी खान आउने वन्यजन्तुहरु पनि असर परेको रेञ्जर गुरुङको भनाई छ । निलगिरी हिमालको छायाँ देखिने निलो रंगको तालको छेउछाउ बगरमा परिणत भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा कार्यरत व्यक्तिहरुले बढ्दो तापक्रम, जलवायु परिवर्तन, भुकम्पका कारण तालमा पानीको सतह घटेको अनुमान गरेपनि अध्ययन अनुसन्धान हुन सकेको छैन् । एयाप जोमसोमकी संरक्षण अधिकृत निरु थापाले भुकम्प र जलवायु परिवर्तनको असरका कारण धुम्बा तालको पानीको मुहान सुकेको हुन सक्ने बताइन् ।

धुम्बातालको अस्तित्व बचाउनका लागि पानीका मुहानको संरक्षण, वृक्षारोपण र वातावरण असर न्युनीकरणका लागि पहल गर्नुपर्ने जोमसोम पर्यटन ब्यवस्थापन उपसमितिका सबी थकालीले बताए ।

तपाईंको बिचार