Wednesday, August 23, 2017

बिबिसीमा नेपालबारे विज्ञापन प्रसारण गर्दै पर्यटन बोर्ड

प्रकाशित मिति: 2016/06/09
जेठ २७,काठमाडौं । नेपाली पर्यटन बजारलाई विश्वव्यापीकरण गर्ने उदेश्यकासाथ नेपाल पर्यटन बोर्डले अन्तराष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे प्रचारप्रसार गर्ने भएको छ । अन्तराष्ट्रियस्तरका सञ्चारमाध्यममा प्रचारप्रसार गर्दा नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने ठहर गर्दै बोर्डले यस्तो निर्णय गरेको हो । सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । बोर्डको यो निर्णयले सरकारको नेपाल भ्रमण वर्ष याजनालाई समेत सहयोग पुग्ने देखिन्छ । प्रचारप्रसारका लागि बोर्ड ग्लोबल टेण्डर आह्वानको अन्तिम तयारीमा रहेको छ । त्यसबाहेक छिमेकी मुलुक चीन र भारतका टेलिभिजनबाट पनि नेपालको विज्ञापन गर्ने तयारी भएको बोर्ड संचालक समितिका सदस्य संयोजक राजेन्द्र सापकोटाले जानकारी दिए । पहिलो चरणमा बिबिसीमा नेपालबारे विज्ञापन प्रसारण गरिनेछ । बोर्ड सञ्चालक समितिको बैठकले बिबिसीमा नेपालबारे विज्ञापन गर्न स्वीकृति प्रदान गरिसकेकोे छ । जसका लागि बोर्डले १० करोड रुपैयाँ खर्च गर्ने छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । बिबिसी आफैं नेपाल आएर विज्ञापनका लागि छायांकन गर्ने भएकाले सेप्टेम्बरबाट विज्ञापन बजाउन सुरु गर्ने योजना बोर्डको छ । बोर्डले यसअघि सन् २०११ मा पनि बीबीसी र सिएनएनमा नेपालबारे विज्ञापन प्रसारण गरेको थियो । त्यो बेला करिब ८ करोड रुपैयाँ खर्च गरेको थियो । त्यस्तै यसपटक बोर्डले पर्यटन प्रवद्र्धनका लागि विद्युतीय सञ्चारमाध्यमलाई मुख्य रुपमा उपयोग गर्ने नीति लिएको छ । त्यसबाहेक डिजिटल मार्के्टिङ बोर्डको पहिलो लक्ष्य भएको सापकोटाले बताए । आगामी आर्थिक वर्षमा नेपालबारे प्रचारप्रसार गर्न मात्रै करिब ४० करोड रुपैयाँ खर्चने योजना बोर्डको रहेको छ । सरकारले २०७३ लाई आन्तिरिक भ्रमण वर्ष घोषणा गरेको छ भने सन् २०१८लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ ।

तपाईंको बिचार