Thursday, March 23, 2017  |    

जलवायु परिवर्तनको चिनारी भन्दै सगरमाथाको ढुंगा ५ देशका प्रमुखलाई उपहार पठाइयो

प्रकाशित मिति: 2016/06/09

जेठ २७, काठमाडौं । विश्वमा बढिरहेको जलवायु परिवर्तनको  े असरप्रति विश्वको ध्यानाकर्षण गराउन सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएका ढुंगा बेलायत, चीन, अमेरीका, रुस, फ्रान्सका राष्ट्रप्रमुखसहित संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलाई पठाइएको छ।

पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले सगरमाथाबाट ल्याएका ढुंगा अमेरिका, बेलायत, फ्रान्स, चीन र रसियाका राष्ट्रप्रमुखलाई दूतावासमार्फत पठाइन लागिएको हो। शेर्पाले मे १० मा ’हामी फेरि उठ्नेछौं’ अभियानसहित सगरमाथा आरोहण गरेर ती ढुंगा ल्याएका थिए।

मंगलबार राजधानीमा हामी फेरि उठ्नेछौं फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघ र सम्बन्धित देशका दूतावास प्रतिनिधिलाई नेपाल सरकारका तर्फबाट युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ढुंगा हस्तान्तरण गरिएको थियो । जलवायु परिवर्तनबारे ध्यानाकर्षण गर्न यसअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सगरमाथाको कालापत्थरमा मन्त्रिपरिषद बैठकसमेत गरेका थिए। त्यसबेला पनि जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको सन्देश दिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई ढुंगा उपहार दिइएको थियो।

विश्वका धनी र औद्योगिक राष्ट्रबाट उत्सर्जन भइरहेको कार्बनडाइअक्साइडले नेपाल जस्ता हिमाली देशमा असर परिरहेकाले ध्यानाकर्षण गराउन संकेतस्वरुप ढुंगा उपहार पठाइएको हो।  ढुंगासँगै जलवायु परिवर्तनको कारण नेपालमा भइरहेका समस्या उल्लेख गरेर पत्रसमेत पठाइएको छ।  

   

तपाईंको बिचार