Wednesday, May 24, 2017  |    

फेवाताल वरपरको जमिन अतिक्रमणले ताल मासिने खतरा

प्रकाशित मिति: 2016/06/11

जेठ २९, पोखरा । पछिल्लो समय फेवाताल सिरानमा रहेको सिमसारमा गरिएको जमिन अतिक्रमण्को कारण फेवाताल जोखिममा पर्ने देखिएको छ ।    ताल संरक्षणकर्मीहरूले तालको  मुख्य आधार सिमसार भएकाले उत्त क्षेत्रमा गरिएको जग्गा प्लटिङले ताल खतरामा परेको बताएका छन् । 
विज्ञहरुका अनुसार तालको मुख्य पानिको स्रोत भनेको सिमसारनै हो त्यसकारण सिमसार क्षेत्र मासिनु भनेको ताल मसिनु हो ।  फेवाताललाई रामसार सूचीमा दर्ता गरिसकिएको छ। त्यसैले यो विश्वकै सम्पदा बनेको छ। तर यो सम्पदा जोगाउनेभन्दा मास्ने काम धेरै भएको छ। त्यसैको पछिल्लो उदाहरण हो तालको सिमसार क्षेत्रमा सुरु भएको प्लटिङ। यसै पनि तालको पूर्वपट्टिबाट पोखरा सहरकै ढल लगेर मिसाउँदा  ताल दुर्गन्धित बनेको छ ।   
पानीको मुख्य स्रोत हर्पन खोलामा बर्से्नि आउने बाढीले बगाएर ल्याउने माटोले पनि ताल पुरेकै थियो। त्यसमाथि यसको सिमसारलाई सुक्खा बनाएर तालमाथि अर्को आक्रमण गरिएको छ।फेवातालको सिम क्षेत्रमा पछिल्लो समयमा जग्गा किनबेच बढेको पोखरा उपमहानगरपालिका २६ का सचिव रुद्रप्रसाद बास्ताकोटीले बताए।  
 पोखरा उपमहानगरपालिकाबाट प्लटिङ स्वीकृत नभएको अधिकारीहरू बताउँछन्। नगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले स्वीकृति नदिइएको सुनाए।  
फेवातालको सिमसार क्षेत्र चंखपुरनजिकै पनि केही वर्षअघि सिम क्षेत्र पुरेर घडेरी बनाइएको थियो। त्यति बेला स्थानीयले जिल्ला विकास समितिमा उजुरी दिए पनि बेवास्ता गर्दा प्लटिङ गरी घडेरी बनिसकेको छ। सिमसार क्षेत्रमै पर्ने सेदीमा ५ वर्षअघि होटेल वाटरफ्रन्ट बनाएर चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले फेवामाथि धावा बोलिसकेका थिए। त्यति बेला विरोधमा उत्रिएका स्थानीय अहिले घडेरी प्लटिङ हुँदा भने मौन छन्।
अहिले प्लटिङ भएको ठाउँ आफैंमा विवादित जमिन पनि हो। जानकारहरू यो पहिला तालकै जमिन भएको तर पुरिँदै जाँदा व्यक्तिले आफ्नो नाममा बनाएको बताउँछन्।फेवाताल अतिक्रमित जग्गा छानबिन उच्चस्तरीय समितिका संयोजक विश्वप्रकाश लामिछानेका अनुसार २०३१ सालमा बाँध फुटेपछि पानीले केही भाग छोडेको थियो। ०३३र०३४ सालमा नापी हुँदा त्यसरी तालले छाडेको जमिन व्यक्तिले आफ्नो बनाएको लामिछानको दाबी छ।
फेवातालवरपरको डाँडा र सिमसार क्षेत्रमा जथाभाबी डोजर चलाउने र सिमसार क्षेत्र पुर्ने गरिँदा बर्से्नि तालको क्षेत्रफल घट्दै गएको छ। प्रतिवर्ष १ लाख ४२ हजार टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। यसैको परिणाम फेवाताल ५ वर्ग्किलोमिटर क्षेत्रफलमा सीमित छ। उचित संरक्षणको अभावमा ४० देखि ५० वर्षको अवधिमा ताल ५० प्रतिशत पुरिएको अध्ययनले देखाएको छ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको २०६४ सालमा प्रकाशित प्रतिवेदनअनुसार त्यतिबेला तालको गहिराइ १८ मिटर, लम्बाइ ४ किलोमिटर र चौडाइ सय मिटरदेखि २ किलोमिटर थियो। सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनमा क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपनीमा सीमित छ   ।   

 

तपाईंको बिचार