Friday, October 20, 2017

इम्जा तालको पानीको सतह घटाउने काममा सेना

प्रकाशित मिति: 2016/06/11

जेठ २९, काठमाडौं ।  नेपाली सेनाले विष्फोटको जोखिममा रहेको सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाउने कार्य सुरु गरेको छ। हिमतालको पानी घटाउन अत्याधुनिक उपकरणसहितको सैनिक टोली इम्जामा खटिएको छ।
समुद्री सतहबाट ५ हजार १० मिटर अग्लो स्थानमा रहेको इम्जा हिमतालमा केही वर्षयता पानी सतह बढ्दै गएको छ। पानी थपिँदै जाँदा हिमताल विस्फोट हुने खतरा बढेपछि २०७२ फागुन ४ गतेको मन्त्रिपरिषद बैठकले तालबाट पानी सतह घटाउने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सेनाले अहिले कार्य थालेको छ।

सेनाका अनुसार इम्जा हिमताल १ सय २८ स्क्वायर किलोमिटरमा फैलिएको छ। दुई किलोमिटर लम्बाइ र औसत ४ सय मिटर चौडाइ रहेको तालको गहिराइ १ सय ८० मिटर छ। तालमा ८ करोड घनमिटर पानी रहेको अध्ययनले देखाएको छ। ताल विष्फोट भए इम्जाभन्दा तलका बस्ती चुकुम, टेङ्बोचे, कोसी बेल्ट हुँदै इनरुवासम्मका ५६ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ। यही जोमिख घटाउन सेनाले हिमतालको पानी कुलो बनाई बाहिर फ्याँक्न लागेको हो।    

अमेरिकी संस्था नासाले इम्जाको अध्ययन गरेपछि फुट्ने खतरा रहेको औंल्याएको थियो। त्यसपछि राष्ट्रसंघीय विकास नियोग (युनडिपी) को सहयोगमा जोखिम न्यूनीकरण कार्य प्रारम्भ गरिएको हो। पानीको सतह घटाउनको लागि सेनाले ३ मिटर गहिरो कुलो खन्ने कार्य सुरु गरेको हो।    
नासाको अध्ययनअनुसार सन् १९६० को दशकमा हिउँ पग्लने क्रम बढेपछि जम्मा भएको पानीले इम्जा ताल बनेको हो। नासाले सन् २००९ मा गरेको अध्ययनमा इम्जालाई सबैभन्दा तीव्रगतिमा पानीको सतह बढ्दै गरेको तालको सूचीमा राखेको थियो। सन् १९६० को दशकमा करिब ४८ हजार ८ सय ११ स्क्वायर मिटरमा फैलिएको इम्जा हिमताल हिउँ पग्लिएर पानीको मात्रा वर्षेनी बढ्दा सन् २००० मा आइपुग्दा ८ लाख ४८ हजार ७ सय ४२ स्क्वायर मिटरमा फैलिन पुगेको थियो। सन् २००७ मा आइपुग्दा इम्जाको क्षेत्रफल झन् बढ्न गई ९ लाख ४५ हजार ६ सय ६२ स्क्वायर मिटर पुगेको थियो।

 

तपाईंको बिचार