Friday, April 28, 2017  |    

धौलागिरि हिमालमा फोहरको मात्रा बढ्दो

प्रकाशित मिति: 2016/06/13
फोटो रासस
फोटो रासस

जेठ ३१, म्याग्दी । धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा प्रदुषण बढ्दै गएको छ । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो ।

आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ प्रदर्शक तथा तिनका सहयोगीले प्रयोग गरेर फालेका फोहर वर्षौंदेखि थुप्रिएको छ । आधार शिविरमा अहिले पनि दुर्घटनाग्रस्त हेलिकप्टरका पाटपुर्जादेखि पर्यटकले प्रयोग गरेर यत्रतत्र फालेका फोहर व्यवस्थापन हुन नसकेको स्थानीय पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो । स्थानीयवासीले धौलागिरि आधार शिविर क्षेत्रमा फालिएको फोहर व्यवस्थापन गर्न र पर्यटकलाई यस क्षेत्रमा जथाभावी रुपमा फोहर फ्याँक्नमा रोक लगाउन माग गर्दै आएका छन् । हालै धौलागिरि आधार शिविर क्षेत्रको सम्भावना र समस्याको अध्ययन गर्न पुगेको जिल्लाको सरोकारवालाको टोलीले आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिन्डर, भारी बोक्ने क्यारी, सिसी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतका फोहर भेटाएकोे थियो ।

मुदीको जापानी शिविरदेखि माथि क्याम्पिङ गरी बस्ने पर्यटक र तिनका सहयोगीले अहिले जथाभावी फोहर फाल्दै आएका छन् । यस क्षेत्रमा हेलिकप्टरमार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ । आधार शिविर क्षेत्रमा सरकारी उपस्थिति र निगरानी नभएकाले समेत फोहर बढेको हो । भ्रमणमा जाने पर्यटकले प्रयोग गर्ने सामग्री जथाभावी छाडेर जाने प्रचलन बढेसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा असर पुग्नुका साथै प्रदूषणसमेत बढेको पाइएको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

केही वर्षअगाडि पर्यटन मन्त्रालयले लाखाँै खर्च गरेर धौलागिरि आधार शिविरको फोहर व्यवस्थापन गर्न काठमाडाँैबाट एक टोली परिचालन गरे पनि उक्त टोलीले फोहर व्यवस्थापन गर्नुको साटो औपचारिकता मात्रै पूरा गरेर फर्किएको स्थानीय पर्यटन व्यवसासीको गुनासो छ । अत्यधिक चिसो हुने भएकाले समेत आधार शिविरमा वर्षौंदेखि कुहिने प्रकारका फोहरसमेत नकुहिएको अवस्थामा थुप्रो लागेको छ । आधार शिविरको अधिकांश भूभागमा फोहर थुप्रिन थालेपछि त्यहाँ पुग्ने पर्यटक पाल टाँगेर बस्नका लागिसमेत फोहरले गर्दा हैरानीमा पर्न थालेको स्थानीय पर्यटन व्यवसायी बोमबहादुर पुनले बताउनुभयो ।

तपाईंको बिचार