Monday, October 23, 2017

हिमनदीमा आएको बाढीले छुकुङको जनजिवन प्रभावित

प्रकाशित मिति: 2016/06/14

जेठ ३२, सोलुखुम्बु ।  ल्होत्से हिमालको हिमनदीमा बाढी आउदा बस्ती छाडेर गएका खुम्जुङका छुकुङवासी घर फर्किएका छन् ।

सोमबार साँझपख आएको बाढीले हिमनदीको उच्च जोखिममा रहेको खुम्जुङ गाविसमा पर्ने छुकुङ गाउँका बासिन्दामा त्रास उत्पन्न भएको थियो र उनीहरु राति बस्ती छाडेर भागेका थिए ।

गाउँमाथि नै रहेको ल्होत्से हिमालको हिमतालबाट अकस्मात ठूलो बाढी आएपछि भागेर डाँडामा गई रातभर जागै बसेको स्थानीयवासी लोप्साङ शेर्पाले बताए।

गाउँको दुबैतर्फ उर्लिएर आएको बाढीले यसअघि पनि पटक–पटक कटान गर्दै आएको र गाउँ उच्च जोखिममा रहेको खबर सञ्चारमाध्यममा आउने गरेको थियो । गाउँको छेवैबाट बग्ने हिमनदीमा यसरी बाढी आएको भूकम्पपछि यो दोस्रो पटक हो । हिजो साँझ आएको बाढी केही घन्टापछि सुकेर नदी सतह पूर्ववत् रुपमा आएको उनले बताए।

हिमालको फेदमा रहेको स–साना हिमपोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । गतवर्ष पनि ल्होत्से हिमालकै हिमतालबाट बगेर आएको पानीले गाउँमा क्षति र्पुयाएको थियो ।

उच्च जोखिमपूर्ण भनिएको इम्जा हिमताल नजिकै रहेको यस गाउँमा इम्जाको डर नभए पनि यस्ता स–साना हिमपोखरीको धेरै डर भएको गाउँलेहरु बताउँछन् । हिजो आएको बाढी पोखरी फुटेर नभई हिमनदीमुनितिर जमेर बसेको पानी भएको हिमतालका ज्ञाता डा धनञ्जय रेग्मीले बताए।

यसअघि आएको बाढीले त्यहाँको पुल भत्काएका थिए। अहिलेसम्म पुल निर्माण र गाउँको संरक्षणमा सरकारको ध्यान पुग्न सकेको छैन। पर्यटकीय गाउँ छुकुङमा १० परिवारका करिब ५० सदस्य बस्ने गर्दछन्। आरोहणका लागि चर्चित आइल्यान्ड पिक पनि सोही क्षेत्रमा पर्छ।  

तपाईंको बिचार