Thursday, April 27, 2017  |    

नेपाल भ्रमण गर्न आह्वानसहित दक्षिण कोरियामा नेपालको पर्यटन प्रचार

प्रकाशित मिति: 2016/06/18

असार ४, २०७३ । भूकम्पपछिको नेपाली पर्यटन उकास्न भन्दै दक्षिण कोरियामा प्रचार कार्यक्रम गरिएको छ । कोरिया वर्ल्ड ट्राभल फेयरको ३१ औं सम्मेलनमा नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र नाटाको पश्चिम शाखा पोखराले संयुक्त रुपमा उक्त प्रचार कार्यक्रम गरेका हुन ।

सम्मेलनमा कोरियाका लागि नेपाली  कार्यवहाक राजदुत किरण शाक्यले दुई देशको आपसी सहयोगको चर्चा गर्दै नेपालको विकास प्रकृया र पुनर्निर्माणमा कोरिया सरकारले गरेको सहयोगका लागि धन्यवाद ब्यक्त गरेका थिए । उनले नेपाल सबै किसिमका पर्यटकले सबै खालका अनुभव लिन सक्ने एक मात्र देश रहेको जिकिर गरे ।
नेपाल सरकार र नेपाल पर्यटन बोर्डका प्रतिनिधिद्वय चिरञ्जीवी खनाल र उदय भट्टराईले नेपालमा पर्यटन सम्बन्धि कार्यक्रम लैजानुपर्ने र भुकम्पले पर्यटन क्षेत्रलाई असर पारेको बारेमा प्रकाश पारेका थिए ।

कोरिया वर्ल्ड ट्राभल फेयर (कोट्फा) का अध्यक्ष सिन जोङ मोकले पर्यटन प्रवद्र्धन गर्न नेपाललाई सक्दो सहयोग गर्ने र  अवकाशपछि आफू नेपाल गएर नेपालको पहाडी क्षेत्रमा कफी खेति गरेर बस्ने इच्छा व्यक्त गरे ।
कोरिया प्रेस सेन्टरमा भएको कार्यक्रम संचालन गर्दै पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौलाले सञ्चारमाध्यममा आए जस्तो नेपालको पर्यटकीय संरचना विनास नभएको जानकारी दिदैं कोरियाली पर्यटकलाई भूकम्पपछिको अवस्था बुझ्न र अप्ठ्यारो परेका बेला सघाउन एक चोटी अनिवार्य नेपाल जान आग्रह गरेका थिए ।
कोरियाका पर्यटन व्यवसायी,पत्रकार, नेपाल पर्यटन बोर्ड,  पोखरा क्षेत्रका पर्यटन ब्यबसायी लगायत सयौंको संख्यामा उपस्थित रहेको कार्यक्रममा पर्यटन सम्बन्धी विभिन्न ब्यक्तिले नेपालको  पर्यटन सम्भावना बारेमा मन्तव्य राखेका थिए ।

 

तपाईंको बिचार