Thursday, June 29, 2017  |    

पर्यटन बोर्ड बीबीसीलगायत, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जाँदै

प्रकाशित मिति: 2016/06/23

ग्लोबल टेण्डर गर्ने अन्तिम तयारी

नेपाल पर्यटन बोर्डले ढिलै भएपनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे प्रचारप्रसार गर्ने प्रक्रिया अघि बढाएको छ । जसको लागि बोर्डले निर्णय गरिसकेको र विज्ञापनको लागि अहिले ग्लोबल टेण्डर आह्वान गर्ने अन्तिम तयारी भइरहेको सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाकाअनुसार बोर्डका सिइओ दिपकराज जोशी कार्यक्रमको शिलशिलामा विदेश गएको हुनाले प्रक्रियाँ रोकिएको र आगामी सेप्टेम्बरभित्र अन्तर्राष्ट्रिय प्रचारप्रसार सम्बन्धि सबै कार्यक्रमको टुंगो लागि सक्नेछ ।
पर्यटन बोर्डको चालु आर्थिक वर्षको ९० करोड रुपैयाँको बजेटमा नेपालबारे प्रचारप्रसार गर्न आधा रकम खर्चने योजना बोर्डको रहेको छ ।

पहिलो चरणमा बिबिसीमा नेपालबारे विज्ञापन प्रसारण गरिने छ । बोर्ड सञ्चालक समितिको बैठकले बीबीसीमा नेपालबारे विज्ञापन गर्न स्वीकृति दिइसकेको छ । जसका लागि बोर्डले १० करोड रुपैयाँ खर्च गर्नेछ । बिबिसी आफैं नेपाल आएर विज्ञापनका लागि छायांकन गर्ने भएकाले सेप्टेम्बरबाट विज्ञापन बजाउन सुरु गर्ने योजना बोर्डको छ ।

बोर्डले यसअघि सन् २०११ मा पनि बीबीसी र सिएनएनमा नेपालबारे विज्ञापन प्रसारण गरेको थियो । त्यो बेला करिब ८ करोड रुपैयाँ खर्च गरिएको थियो ।

त्यसबाहेक क्षेत्रीय प्रवद्र्धन शिर्षकमा छिमेकी मुलुक चीन र भारतका टेलिभिजनबाट पनि नेपालको विज्ञापन गर्ने तयारी भएको सापकोटाले जानकारी दिनुभयो । यसपटक बोर्डले पर्यटन प्रवद्र्धनका लागि विद्युतीय सञ्चारमाध्यमलाई मुख्य रुपमा उपयोग गर्ने नीति लिएको छ । चीन र भारतको सञ्चार विज्ञापनका लागि ३÷३ करोडको दरले ६ करोड रुपैयाँ खर्चने योजना तर्जुमा भएको छ । सँगसँगै ती देशहरुमा थप अन्य पर्यटन प्रवद्र्धनात्मक गतिविधिका लागि  २÷२ करोड रुपैयाँ खर्च गर्ने कार्ययोजना तर्जुमा गरिएको छ ।  
काम गर्ने नाममा हुने अनावश्यक खर्च न्यूनिकरण गर्न आफुहरु अत्यान्तै संवेदनशिल भएर लागिरहेको बताउनुभयो ।

‘जसरी भएपनि बजेट सक्ने मानसिकताको अन्त्य गर्न हामी प्रयत्नशिल छौं’ गन्तव्य नेपालसँग उहाँले भन्नुभयो–‘रकम बरु फ्रिज नै होस् त्यसलाई आगामी बजेटमार्फत उपयुक्त ठाउँमा खर्च गरौला । तर सम्झौता गरेर झारो टार्ने खालका कामलाई निस्तेज पार्नुपर्छ भन्नेतिर हामीले ध्यान दिएका छौं ।’
चालु आर्थिक वर्षमा ७० प्रतिशत भन्दाबढि खर्च गर्ने प्रक्षेपन बोर्डले लिएको छ । यसअघि बोर्डको कूल बजेटमा करिब ६० प्रतिशत मात्रै खर्च भएको थियो ।

पर्यटन बोर्डले अघि बढाएको अन्तर्राष्ट्रिय प्रवद्र्धनको कार्यक्रमप्रति  व्यवसायी र सरोकारवालाहरुले स्वागत गरेका छन् ।

तपाईंको बिचार