Wednesday, June 28, 2017  |    

नेपालमा मेडिकल पर्यटन सम्भव छ ?

प्रकाशित मिति: 2016/06/26

हेल्थ कन्सर्नका प्रमुख कार्यकारी अधिकृत डा. सुवास प्याकुरेल लामो समयदेखि स्वास्थ्य परामर्श सेवामा सक्रिय छन् । मेडिकल शिक्षा र स्वास्थ्यसम्बन्धी विभिन्न माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउँदै आएका उनले नेपालमा स्वास्थ्य क्षेत्रले पनि पर्यटक भित्र्याउन सक्छ भन्ने मान्यतासहित पर्यटनसँग सम्बन्धित निकायमा अनौपचारिक रूपमा सहकार्य सुरु गरेका छन् । नेपालका सरोकारवालाले मेडिकल टुरिजममार्फत पर्यटक ल्याउन सकिने अवस्था भए पनि कार्यान्वयन गर्न नसकेको भन्दै उनले सम्भावनालाई यसरी प्रस्तुत गरेका छन् । 

अहिले स्वास्थ्य क्षेत्रमा संसारभर लगभग एउटै प्रकारको मापदण्ड प्रचलनमा आइसकेको छ । उपचार पद्धति, उपकरण र औषधि एकै प्रकारका छन् । तर, त्यसको व्यवस्थापन, प्रयोग, जनशक्ति परिचालन, प्रविधिजस्ता आन्तरिक पक्षले हरेक मुलुकपिच्छे यसको गुणस्तर फरक पर्न जान्छ । आजको दिनमा संसारमा प्रचलनमा रहेका हरेक प्रविधि जुनसुकै मुलुकले पनि भित्र्याउन सक्छ । त्यसका आधारमा एक देशको मानिसले अर्को देशमा गएको वेला विनाकुनै हिचकिचावट उपचार लिन सक्छ । सूचना प्रविधिको प्रयोगले पनि उपचार पद्धतिलाई संसारभर एकै प्रकारले फैलाउन निकै सहयोग गरिरहेको छ । त्यसैले, आज नेपालमा बसेर अमेरिका या युरोपमा उपलब्ध हुने गुणस्तरको उपचार लिन सकिन्छ ।

नेपालले केही दशकयता सेवा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । त्यसमध्ये स्वास्थ्य एउटा क्षेत्र हो । हाम्रोमा गुणस्तरीय स्वास्थ्य संस्था मात्र होइन, दक्ष जनशक्ति उत्पादन गर्ने उत्कृष्ट मेडिकल कलेज पनि खुलिसकेका छन् । यी संस्थामा अध्ययनकै लागि विदेशबाट विद्यार्थी आकर्षित गर्न सकिन्छ । अर्कोतर्फ स्वास्थ्य सेवालाई अत्यावश्यक सेवाका रूपमा स्वीकार गरी सर्वसुलभ बनाउनेतर्फ काम भएका छन् । राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र पनि परेको छ । यसकारण नेपालले सेवा क्षेत्रअन्तर्गत स्वास्थ्यमा गरेको प्रगतिले अन्तर्रा्ष्ट्रिय पर्यटन बजारमा सकारात्मक प्रभाव पार्छ ।

आज नेपाली नागरिक संसारका विभिन्न मुलुकको स्वास्थ्य क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन् । एउटा अनौपचारिक तथ्यांकअनुसार अमेरिकामा मात्र ९ सयजना नेपाली डाक्टर काम गरिरहेका छन् । एउटा मुलुकमा त्यति संख्यामा डाक्टर कार्यरत हुनु नेपालको उज्ज्वल भविष्यको संकेत हो । किनकि हिजो भारत र चीन जब आर्थिक विकासको चरणमा प्रवेश गर्दै थिए, त्यसवेला उनीहरूले यसैगरी बिदेशिसका आफ्ना नागरिकलाई क्रमशस् स्वदेश फर्काउने अभियान थालेका थिए । नेपालमा अवसरको अभावमा बिदेशिसु परे पनि धेरै नेपाली जनशक्ति राम्रो अवसर पाउने हो भने नेपालमै फर्कन चाहन्छन् । चीन र भारतले केही समय नियोजित रूपमै आफ्ना नागरिकलाई उच्च शिक्षा अध्ययनका लागि विकसित मुलुकमा पठाएका थिए । ती नागरिकले अन्ततस् स्वदेश फर्कने वातावरण बनाएपछि त्यसको फाइदा भारत र चीनले लिइरहेका छन् । हामीले पनि विभिन्न मुलुकमा बसेर काम गरिरहेका दक्ष जनशक्तिलाई स्वदेश फर्काउने वातावरण बनाउन सक्नुपर्छ ।

स्वास्थ्य पर्यटनको मतलब केवल उपचारका लागि विदेशी नागरिक स्वदेश भित्रिनु मात्र होइन । हामीकहाँ स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक अन्य धेरै सम्पदा उपलब्ध छन् । त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण सम्पदा जडीबुटी हो । उच्च हिमाली र पहाडी क्षेत्रमा पाइने जडीबुटीलाई संसारभर उत्कृष्ट उत्पादनका रूपमा लिइन्छ । यस्ता कतिपय जडीबुटी हामीकहाँ छन्, जुन नेपालमा मात्र उपलब्ध हुन्छन् । यसलाई पर्यटकीय प्रडक्टका रूपमा विकास गर्न सकिन्छ । यार्सागुम्बा संकलन गर्ने समयमा उच्च हिमाली क्षेत्रमा नागरिकको उपस्थिति विदेशी पर्यटकका लागि अनौठो लाग्छ । त्यही बहानामा पर्याप्त पर्यटक भित्र्याउन सकिन्छ । यसबाहेक जडीबुटीको प्रयोग गर्दै उपचार गर्ने नेपालको मौलिक उपचार पद्धति पनि छ । त्यसलाई आयुर्वेदका रूपमा लिन सकिन्छ । प्रकृतिसँग रमाएर गरिने उपचार पद्धतिसँग संसारभरका नागरिक उत्साहित हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले उपचारका क्रममा आध्यामिक पद्धतिलाई स्वीकार गरिसकेको छ । विश्वमा अहिले पनि ठूलो संख्यामा नागरिक अध्यात्ममा विश्वास गर्छन् र त्यसलाई अँगाल्छन् । यसमा योगा एउटा विकसित प्रडक्ट हो । त्यसैगरी, ध्यान र चिन्तनका माध्यमबाट पनि मानिसले रोगसँग मुकाबिला गर्न सक्छन् । प्रदूषणरहित शान्त प्रकृतिमा ध्यानमा बस्न र योगा गर्न चाहने पर्यटकका लागि नेपालभन्दा उपयुक्त अर्को गन्तव्य के हुन सक्छ ? ऋषिमुनि लामो समयदेखि योगा, ध्यान, चिन्तन–मननका माध्यमबाटै रोगसँग लडेका थिए । त्यसमा स्थानीय रूपमा उपलब्ध जडीबुटीको उपयोगले निकै फाइदा गर्छ । यसबाहेक हाई अल्टिच्युडमा हुने विविध गतिविधिका माध्यमबाट पनि पर्यटक भित्र्याउन सकिन्छ । अध्ययन–अनुसन्धान, अवलोकन भ्रमणको प्रयोजनका लागि पर्यटक भित्र्याउन सकिन्छ ।

प्राकृतिक तथा मानवीय व्यवहारले उत्पन्न हुने परिस्थितिका कारण वेलावेलामा नेपालबारे संसारभर नकारात्मक सन्देश प्रवाह हुने गर्छ । नेपालमा पर्यटक भित्र्याउन सरकारले आक्रामक व्यापार प्रवद्र्धन गर्न सकेको छैन । लामो समयदेखि नेपाल प्रचार गर्ने माध्यम सीमित छन् । यसका बाबजुद पनि नेपालमा वार्षिक ८ लाख हाराहारी पर्यटक नेपाल आइरहेका छन् । वास्तवमा सरकार र निजी क्षेत्रको अत्यन्त न्यून प्रयासबाट पनि यति ठूलो संख्यामा पर्यटक भित्रिनु नेपालका लागि ठूलो कुरा हो । यस अवस्थामा हामीले स्वास्थ्य पर्यटनकै नामका बेग्लै प्रचार–प्रसार गरिरहनुपर्ने आवश्यकता छैन । जुन मुलुकमा पर्यटक आइरहेका छन्, त्यहाँ स्वास्थ्य पर्यटनका नाममा नयाँ प्रडक्ड थप्ने मात्र हो । नेपालमा पदयात्रा, पर्वतारोहण मात्र गर्ने होइन, स्वदेश फर्कंदा उपचार पनि गरेर फर्कने भन्ने भावनाको विकास गर्ने गरी स्वास्थ्य पर्यटनलाई विकसित गर्न सकिन्छ ।

आज संसारभर सौन्दर्य उपचारका लागि ठूलो धनराशि खर्च गरिन्छ । मानिसलाई आफ्नो सौन्दर्यप्रति निकै चासो र जिज्ञासा छ । नेपाल प्राकृितक संरचना र वातावरण सौन्दर्य उपचारका लागि संसारकै उत्कृष्ट मानिन्छ । कृत्रिम एसीमा गरिने उपचार नेपालमा प्राकृतिक मौसममा आधारित भएर गर्न सकिन्छ । त्यति मात्र होइन, सो प्रयोजनका लागि प्रयोग हुने जडीबुटी र औषधि नेपालमा पर्याप्त मात्रामा उपलब्ध छन् । ती सम्पदाको अध्ययन–अनुसन्धान र त्यसपछि उपचारका लागि मानिस भित्र्याउन सकियो भने त्यो नेपाली पर्यटन बजारका लागि निकै उत्साहजनक अवस्था हो ।

आज संसारभर आवत–जावत गर्ने पर्यटकको पहिलो चासो र प्राथमिकता व्यक्तिगत स्वास्थप्रति हुन्छ । उनीहरू जहाँ जानु अगाडि पनि आकस्मिक अवस्थामा उपचारको व्यवस्था छ कि छैन भन्नेमा निकै सचेत हुन्छन् । सोही कारण मेडिकल किट बोकेर हिँड्ने प्रचलन छ । कतिपय अवस्थामा ट्राभल एजेन्सीमार्फत स्वास्थ्य बिमा गरेपछि मात्र पर्यटक घुम्न निस्कन्छन् । यस अवस्थामा पर्यटकलाई नेपाल आइसकेपछि जस्तोसुकै परिस्थितिमा पनि उपचारको व्यवस्था छ भन्नेमा आश्वस्त पार्न सकियो भने आजको भन्दा एकसाथ धेरै पर्यटक नेपाल आउन थाल्छन् । आधारशिविरमा जस्तोसुकै उपचारको व्यवस्था छ भन्ने ग्यारेन्टी दिन सकियो भने सगरमाथा चढ्न आएको पर्यटकले सफल आरोहण गर्ने सम्भावना स्वाभाविक रूपमा बढी हुन्छ । पदयात्रा गर्दा हरेक स्टेसनमा अस्पताल छन् भन्ने भयो भने पर्यटक जोखिम लिन तयार हुन्छ ।

विदेशी पर्यटकलाई स्वदेशमा जस्तोसुकै उपचार गर्ने हो भने विश्वमा अहिले विकसित भएका प्रविधि भित्र्याउनुपर्छ । ती प्रविधि आएर उपचार सुरु भएपछि स्वाभाविक रूपमा नेपालको स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि हुन्छ । जब नेपालमा गुणस्तरीय उपचार हुन्छ, त्यो केवल विदेशीका लागि मात्र हो भनेर कुनै पनि स्वास्थ व्यवसायी पन्छिन सक्दैन । यस अवस्थामा विकसित भएको स्वास्थ्य क्षेत्रको गुणस्तरबाट सर्वप्रथम नेपाली नै लाभान्वित हुन्छन् । नेपालमा मेडिकल कलेज खुल्दा, पर्याप्त अस्पताल खुल्दा, विकसित प्रविधि भित्रिँदा त्यसको फाइदा त अन्ततस् नेपालले नै लिने हो ।

आज भारतका ठूला अस्पतालले हरेक नयाँ उत्पादन या उपचार पद्धतिको विकास गर्नासाथ नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराउँछन् । हरेक दिन स्वास्थ्य उपचारका लागि प्याकेजमा मानिसलाई विदेश लैजाने गरिन्छ । आउटवाउन्ड प्याकेज उपलब्ध भए पनि नेपालमा पूर्वाधारको अभावले त्यस्तो प्याकेज ल्याउन सकिएको छैन । हामीले तत्काल विदेशबाट स्वास्थ्य उपचारको प्याकेज ल्याउन नसके पनि हरेक दिन उपचारकै लागि बाहिरिने ठूलो संख्या स्वदेशमै रोक्न सके नेपालको पैसा विदेश जानबाट बच्ने थियो । सूचना प्रविधिको विकासले आज संसार एउटा गाउँको रूपमा परिणत भएको छ । त्यसको प्रयोगबाट संसारको एक मुलुकमा बसेर उत्कृष्ट उपचार सेवा लिन सकिन्छ ।

  साभार स्वास्थ्यखबर डट कम 
 

तपाईंको बिचार