Friday, June 23, 2017  |    

कृषि पर्यटनको अवधारणा सहित अर्गनिक फार्म हाउस रिर्सोटमा नाटोजले मनायो धान दिवश

प्रकाशित मिति: 2016/06/30

असार १६, काठमाडौं ।  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) र अर्गानिक फार्म हाउस रिर्सोटले हिजो राजधानीमा संयुक्त रुपमा धान दिवस मनाएका छन् । कपनस्थित फार्म हाउसको आफ्नै खेतमा धान रोपेर धान दिवस मनाइएको हो । कृषि पर्यटन प्रवद्र्धनार्थ आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति  तथा सांसद जगदिश नरसिंह केसी, एमाले केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापा, ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलिया, योग एसोसिएशन नेपालका  प्रथम उपाध्यक्ष कुमार थापा, टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान)का महासचिव हेमविक्रम शाहीलगायत तीन दर्जन पर्यटन पत्रकारकोे सहभागिता रहेको थियो ।
रोपाई गर्नुअघि औपचारिक रुपमै कृषि पर्यटनको अवधारणामाथि छलफल गरिएको थियो ।
दिवसको अवसरमा सांसद जगदिश नरसिंह केसीले नेपाल कृषि प्रधान देश भएपनि कर्मठ यूवाहरु विदेशिनुले कृषि उत्पादनमा गिरावट आइरहेको उल्लेख गर्दै सरकारले सबैलाई आफ्नै माटोमा रम्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले कृषिलाई पर्यटनसँग जोड्नको लागि भएका प्रयास अत्यान्तै सह्रानीय भएको बताए । त्यस्तै एमाले पर्यटन विभाग प्रमृुख सुर्य थापाले नेपालमा आधुनिक कृषितर्फ जोड दिनुपर्ने बताए । कृषि र पर्यटन आपसमा अपरिहार्य रहेको उल्लेख गर्दै उनले यसको विकासको लागि बोलेर नभई व्यवहारमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नाटोजका अध्यक्ष शिव अधिकारीले कृषि पर्यटनको माध्यमबाट देशको आर्थिक विकास गर्न सकिने बताउँदै यसको लागि सबै लागि पर्नुपर्नेमा जोड दिए । बक्ताहरुले अर्गानिक फार्म हाउस रिसोर्ट र त्यसका सञ्चालक संगम शेर्पाले  गरेको कर्मको प्रशंसा गरेका थिए ।   

शेर्पाले अमेरिकाको भिजासमेत त्यागेर यो कामलाई अघि बढाएका हुन् । ‘आफ्नै देशको माटोमा केही फलाउनुपर्छ भनेर मैले यो काम गरिरहेको छु’ ट्रेकिङ एजेन्सिज् एसोसियसन आफ नेपाल (टान) कार्यसमिति सदस्यसमेत रहेका शेर्पाले भने ‘कृषि पर्यटन आजको आवश्यकता हो । सबै युवाहरुलाई यसतर्फ आकर्षित गर्ने वातावरण निर्माण गर्न सके कृषिमा आत्मनिर्भरता मात्रै नभएर मुलुकको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने थियो ।’

औपचारिक कार्यक्रमपश्चात अर्गानिक फार्म हाउस क्षेत्रमै सामुहिक रोपाई गर्दै दही चिउरा खाएर असार १५ अर्थात धान दिवश मनाइएको थियो ।

अर्गानिक फार्म हाउस रिसोर्टमा शुद्ध  अर्गानिक परिकारको स्वाद र २५ रोपनी क्षेत्रफलमा फैलिएको  अर्गानिक फार्म हाउसको भ्रमणले रिसोर्ट पुग्ने जो कोहिलाई मोहित बनाउँछ । काठमाडौको चाबाहिल गोपीकृष्ण (रिङरोड) बाट करिब डेढ किलोमिटर दूरीमा पर्ने उक्त  अर्गानिक फार्म हाउस युवा पर्यटन व्यवसायी पेम्बा शेर्पा (संगम)ले सञ्चालनमा ल्याउनुभएको हो । कृषि र पर्यटन सँगसँगै भन्ने अवधारणाका साथ पाँच वर्ष अगाडि स्थापना भएको उक्त रिसोर्टमा शुद्ध अर्गानिक  परिकारको स्वादसँगै सोल्टीनीको घर, ठूल्दाईको घर, दौतरी घर, याक्सा घर, अर्थक्वेक घर जस्ता विभिन्न नामले नामाकरण गरिएका घरहरुमा बस्न पाइन्छ ।

 

तस्वीर जनार्दन अर्याल , खरिजंग राई, 

तपाईंको बिचार