Saturday, June 24, 2017  |    

ऐतिहासिक महत्वका दरबारहरु भत्काइदै

प्रकाशित मिति: 2016/07/03

असार १९, काठमाडौं । गत वर्षको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवनमध्ये  ऐतिहासिक राणाकालीन दरबारहरू भत्काइँदैछ भने केही भवनको सबलीकरण अर्थात रेट्रोफिटिङ गरिने भएको छ ।   

सार्वजनिक भवनहरूको पुनःनिर्माणका लागि कम्तीमा २७ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान सरकारको रहेको छ । नयाँ भवन निर्माण गर्दा जति खर्च लाग्छ भवन सबलीकरण गर्दा त्यसभन्दा ३० प्रतिशतसम्म बढी खर्च लाग्छ । 
  सामान्य मर्मत गर्दा हुने, सबलीकरण गर्नुपर्ने र नयाँ बनाउनुपर्ने गरी भूकम्पबाट क्षति भएका भवनलाई तीन वर्गमा वर्गीकरण गरिएको छ ।  विभिन्न जिल्लामा गरी २१० वटा सरकारी कार्यालयको पुनःनिर्माण गर्नुपर्ने र २८३ वटा भवनको मर्मत गर्नुपर्ने प्रतिवेदन आएको थियो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहलका आयोजना निर्देशक इन्जिनियर शिवहरि शर्माका आनुसार काठमाडौँका राणाकालीन दरबारहरू धेरैजसोको पुनःनिर्माण गर्नुपर्ने अवस्थाका छन्  ।

राष्ट्रपति कार्यालय शीतल निवासको पछाडिपट्टिको भाग भत्काएर पुनःनिर्माण गर्ने टुङ्गो लागिसकेको छ भने अग्रभाग भत्काउने वा सबलीकरण गर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयलाई पत्राचार गरिएको छ।  
एसियाली विकास बैङ्कको सहयोगमा काठमाडौँ बाहिरका ११ जिल्लाका विभिन्न सार्वजनिक भवनहरूको सबलीकरण र पुनःनिर्माण गरिने छ ।  उपत्यकामा रहेको केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरका भवनहरूलाई क्षतिको अवस्था हेरी वर्गीकरण गरिने छ ।   
भत्किने राणाकालीन दरबारहरू
भत्काउने भनी निर्णय भएका राणाकालीन दरबारहरूमा पुल्चोकस्थित हरिहर भवन, निजामती किताबखाना, केन्द्रीय पुस्तकालय तीनवटै भवनको पुनःनिर्माण गरिने छ ।  त्यसैगरी भवन विभागका लागि समेत भवन निर्माण गरिने भएको छ ।  यी चार वटा भवनको डिजाइन गर्न सूचना प्रकाशन भइसकेको छ ।  यस्तै, भत्काइनेमा ललितपुरको जुद्धवारुण यन्त्र रहेको कार्यालय पनि परेको छ । 

यसैगरी, राष्ट्र बैङ्कका बालुवाटार र थापाथलीमा रहेका दुईवटै भवन भत्काइने भएको छ ।  यी दुवै दरबार भत्काएर नयाँ भवन बनाउने निर्णय भइसकेको छ ।   

राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग रहेको सिंहदरबारको पनि निर्माण कार्य अब छिट्टै सुरु गरिने छ । 

बबरमहलस्थित महालेखा परीक्षकको कार्यालय र सडक विभाग रहेको भवन र केशर महल भने भत्काउने वा सबलीकरण गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।  यी दुवै भवनको थप अध्ययन भइरहेको छ ।  यस्तै, अन्य राणाकालीन दरबारहरू केन्द्रीय बाल कल्याण नक्साल काठमाडौँ भवन, ललितपुरस्थित सिँचाइ विभाग रहेको भवनमा पनि भूकम्पले क्षति गराएको छ ।  

 

तपाईंको बिचार