Monday, April 24, 2017  |    

पर्यटनको सम्भावना बोकेको पूर्वी पहाड

प्रकाशित मिति: 2016/07/03

असार १९, इलाम ।  काठमाडौंबाट सिन्धुली, महोत्तरीको बर्दिवास हुँदै पूर्व–दक्षिण गुडेपछि उखरमाउलो गर्मीमा पुगिन्छ, झापाको चारआली। त्यहाँबाट ७८ किमी उँभो लागेपछि आउँछ शीतल–रमणीय इलाम। जेठको तेस्रो साता नवलपरासीबाट गएका आन्तरिक पर्यटकलाई अरू के चाहियो!

शीतल–रमणीय वातावरणमा पहाडको शुद्ध खान्की र अर्ग्यानिक चियाको चुस्कीसँगै इलामको सयरपछि हाम्रो यात्रा अझ् उकालियो पाँचथरहुँदै ताप्लेजुङको पाथिभरासम्म।
ऐतिहासिक लिम्बूवानको ३७९२ मीटर उँचाइमा अवस्थित पाथिभरा भगवती मन्दिर मूलतः हिन्दू देवीस्थान भए पनि यिनी पूर्वी पहाडमा सबैकी इष्टदेवी हुन्।  

  इलाम, पाँचथर र ताप्लेजुङ बसाइमा पूर्वी पहाडको सौन्दर्य र सम्भावना नियाल्न पाइन्छ । हिमाल–पहाड जोडिएको यो क्षेत्र सुन्दर त यसै छ, जैविक विविधता, धर्म–संस्कृति र इतिहासमा उत्तिकै धनी पनि छ । कृषिमा आएको आधुनिकीकरण जताततै देख्न पाइन्छ ।   जलविद्युत्मा पनि लोभलाग्दो काम भइरहेको छ । 

पर्यटन विकासमा भने  केहि कमजोरी  छन् ।  अहिले जति पर्यटक आएका छन् ती आफैं ओइरिएका हुन्। प्रमुख पर्यटनस्थलसम्म पुग्ने बाटाघाटा सहज छैनन्। संचार सेवा, औषधि पसल र होटलहरूको पनि कमि देखियो।
 
 पहिला सम्पर्क नगरी एक्लै जानेहरूलाई त झन् समस्या पर्न सक्छ जति होटल पनि व्यावसायिक भइनसकेको मेची पहाडी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष रणबहादुर खड्काले बताए।

पाथिभरा मन्दिरको फेदीसम्म पु¥याउने ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि काफ्लेवारी सम्मको ११ किलोमिटर सडक अप्ठ्यारो छ। सुकेटार विमानस्थलमा ओर्लनेहरू पनि सजिलै पाथिभरा पुग्न सक्दैनन् बाटोकै कारण। यहाँ भरियाले किलोको रु.२०० लिएर मान्छे र मालसामान बोक्छन्।

 मन्दिर तलको तीन किमी ठाडो उकालोमा न रेलिङ छ न त विश्राम गृह। त्यसको लागि मन्दिरको भेटी नै सदुपयोग गर्दा पनि मनग्गे हुनेथियो। पाथिभरा क्षेत्र विकास समितिका निर्देशक उदय भट्टराईका अनुसार, पछिल्लो दुई महीनामै रु.४२ लाख भेटी उठेको छ। यसअघि उठेको भेटीको लेखाजोखा हुन नसकेको उनले बताए।
इलाम–ताप्लेजुङ गर्ने पर्यटकलाई पाँचथरमा रोक्ने काम पनि हुनसकेको रहेनछ, जबकि यो जिल्लासँग त्यस्तो सामर्थ्य मनग्गे छ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक थलोहरूको रूपमा पनि।

त्यसमा पनि संस्कृतिलाई पर्यटनसँग जोड्न सके पाँचथरमा पनि ७३ किमी तलको इलाम र ८६ किमी माथिको ताप्लेजुङमा जस्तै पर्यटन गतिविधि बढाउन सकिने थियो।
अवस्था कस्तो भने फुङलिङमा भेटिएका १० कक्षामा अध्ययनरत कमल किराँतीले काठमाडौंको टुँडिखेलमा मनाइएको साकेला (उभौली–उधौली) पर्व टेलिभिजनमा हेरेर आफ्नो संस्कृति बुझेको बताए।

तपाईंको बिचार