Wednesday, May 24, 2017  |    

दोलखामा दक्षिण एसियाकै ठूलो हनुमानको मूर्ति बन्ने

प्रकाशित मिति: 2016/07/03

असार १९, दोलखा ।  आन्तरिक पर्यटनको विकासका लागि दोलखाको हनुमन्ते डाँडामा दक्षिण एसियाकै सबैभन्दा ठूलो हनुमानको मूर्ति बनाइने भएको छ । जिल्लाको पर्यटन उद्योगको विकासमा टेवा पु¥याउने लक्ष्यका साथ जिरी टुरिजम काउन्सिलमार्फत मूर्ति निर्माण गर्न लागिएको हो ।

स्विट्जरल्यान्डको जुरिच सहरसँग तुलना हुने गरेको पर्यटकीय नगरी जिरी नगरपालिका र जुगु गाविसको सिमानामा रहेको हनुमन्ते डाँडाबाट दोलखाका अधिकांश भूभाग नियाल्न सकिन्छ ।

प्राकृतिकसँगै धार्मिक पर्यटन पनि अगाडि बढाउने उद्देश्यका साथ एक वर्षभित्र हनुमानको प्रतिमा बनाउने उद्देश्य लिएको काउन्सिलले जनाएको छ ।   
हनुमन्तेमा हनुमानको प्रतिमा निर्माण गर्न सके भारतीय पर्यटकलाई सहजै दोलखा  ल्याउन सकिने पर्यटन व्यवसायीको भनाइ छ । भारतीय नागरिक बढी मात्रामा हनुमानको पूजा गर्ने भएकाले पनि दोलखामा हनुमानको प्रतिमा निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायीको धारण छ  ।  

तपाईंको बिचार