Monday, October 23, 2017

विभिन्न नाउँमा पर्यटकमाथि ठगी धन्दा

प्रकाशित मिति: 2016/07/06

काठमाडौं । मुलुको पर्यटकीय आकर्षणलाई धुमिल पार्नेहरु दृश्य वा अदृश्य रुपमा सक्रिय छन् । विशेषगरी पर्यटकीय गन्तव्यहरुमा हुने गरेका अवैध गतिविधिहरुले यसलाई थप मलजल पुर्‍याउने काम गरिरहेको छ । उपत्यकाको भक्तपुर, बसन्तपुर, पाटन, पशुपतिनाथ, बौद्धनाथ तथा उपत्यका बाहिरका विभिन्न पर्यटकीय गन्तव्यहरुमा धेरैजसो संगठितरुपमै यस्ता गतिविधिहरु हुने गरेको पाइएको छ । यी गन्तव्यहरुमा हकर, मगन्ते तथा गलत नियतले सञ्चालित व्यक्तिहरुले पर्यटकमाथि विभिन्न तरिकाबाट ठगी धन्दा चलाउने गरेका छन् । ती पर्यटकीय गन्तव्यहरुमा पर्यटकमाथि कस्तो र कसरी धन्दा चलाउँछन् केही घटनाका फेहरिस्त यहाँ प्रस्तुत गरिएको छ ।

बौद्धनाथ क्षेत्रः
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा विदेशी नागरिकहरुबाटै ठगी हुने गरेको भेटिएको छ । यस क्षेत्रमा विशेषगरी भारतीय मुलका अधबंैसे आइमाईहरुको सक्रियतामा पर्यटकमाथि ठगी हुने गरेको पाइएको हो । ती आइमाइहरुले मगन्ते पाराले पर्यटकलाई ठग्ने गरेका छन् । बौद्ध क्षेत्रमा दूधेबच्चालाई काखी च्यापेर उनीहरुले पर्यटकलाई जबरजस्ती दूध, बिस्कुटजस्ता सामाग्रीहरु किन्न लगाउनेदेखि लावालस्कर लगाएर बगलीमार गर्ने गरेका छन् । उनीहरुको क्रियाकलाप प्रायजसो बगलमै हुने र एउटाले त्यसरी सामाग्री किन्न लगाएर पर्यटकलाई भुलाउने र अर्कोले त्यही दाउमा पर्यटकको पैसा, क्यामेरा, मोबाइलजस्ता सामाग्री थुतिदिने जस्ता काम गर्ने गरेका छन् ।   

भक्तपुर क्षेत्रः
भक्तपुर क्षेत्र भ्रमणमा जाने पर्यटकहरु विभिन्न नाममा ठगिने गर्छन् । भक्तपुर दरबार स्क्वायर क्षेत्र होस् या तौमडी, दत्तात्रय स्क्वायरमा नै किन नहोस्, हकर तथा खुद्रा व्यापारीहरुले संगठित रुपमै पर्यटकलाई दुःख दिने गरेका छन् । यस क्षेत्रमा सामान किनाउने निहुँमा उनीहरुबाट धेरै जसो पर्यटकले हैरानी खेप्नुपर्दछ । उनीहरुले निम्नस्तरको भाषा (खस्रो भाषा)मा कमसल किसिमका धातु तथा ह्याण्डिक्राफ्ट सामाग्रीहरु चर्को मूल्यमा किन्न कर लगाउँछन् ।  

त्यत्तिमात्रै नभएर आफू गरिब भएको देखाएर पनि यहाँ पर्यटकलाई ठगिन्छ । साधारण भेषमा आएर पर्यटकलाई किताब किन्दे भन्छन् । त्यसको दयनीय अवस्था देखेर पर्यटकले दयाले किताब किन्दिन्छ । तर पर्यटक हिँडिसकेपछि उसले त्यो किताब किनेकै पसलमा लगेर फर्काइदिन्छ र त्यसबापत कमिसन लिन्छ ।

यहाँ हकरहरुले पथप्रदर्शकलाई समेत हैरानी दिन्छन् । पथप्रदर्शकले आफ्नो गेष्टलाई यो सामान राम्रो छैन भनेर भन्यो भने तिनीहरु भौतिक आक्रमण मै उत्रिने गर्छन् । यसरी पथप्रदर्शकमाथि भौतिक आक्रमण भएको घटना बारम्बार दोहोरिरहेको पाइन्छ । नयाँ पथप्रदर्शकलाई अझ गाह्रो हुने गर्दछ ।

पशुपतिनाथ क्षेत्रः
ठगहरुको पनि आ–आफ्नै पारा हुन्छ । यहाँ धर्मको नाममा पनि ठगी धन्दा चल्छ । पशुपति दर्शनमा आएका धार्मिक तिर्थालुहरुलाई यहाँ पण्डित भनाउँदाहरुले पशुपति मन्दिरमा चर्को मूल्यमा पूजा गराउने गर्छन् । पूजामा दूध चढाउन लगाएर पनि उनीहरुले तिर्थालुहरुलाई ठग्छन् । दूधको नाममा पानी मिसाएर एक चौथाई पनि दूध हुँदैन । सुरुमा दूध चढाउन फकाउने र दूध चढाउनको लागि तिर्थालु सहमत भएपछि दूधको नाममा पानी दिन्छन् । ती पण्डित भनाउँदाहरुले दूधको नाममा पानी पनि चर्को मूल्यमा बिकाउँछन् । त्यो पनि पैसा सुरुमा नभन्ने जब दूध चढाइसकेपछि मात्रै चर्को पैसा लिन्छन् । एक बोत्तल पानी नै पानी मिसिएको दूधको मूल्य जति पनि लिन पछि पर्दैनन् । उनीहरुले मान्छे हेरेर दाम तोक्छन् । यसबाट प्रष्ट हुन्छ कि यहाँ धर्मको नाममा कुकर्म गरेर पैसा कमाउनेहरुको चल्ती छ । यत्तिमात्रै होइन स्थानीय रुद्राक्ष पसलहरुद्धारा संरक्षित वा सञ्चालित हकर्सहरुले चर्को मूल्यमा रुद्राक्षलगायतका सामाग्री किनाउने गर्छन् ।

बसन्तपुर क्षेत्रः
बसन्तपुर दरबारस्क्वायर क्षेत्रमा पर्यटकलाई जबरजस्त विदेशी मुद्रा (डलर, युरोलगायत) अवैध रुपमा साटिदिने काम गरेर कमिसन खानेहरुको विगविगी छ । प्राप्त जानकारीअनुसार यहाँ आफूखुशी घुम्न आएका पर्यटकलाई गाजा चरेसलगायतका लागु पदार्थ खुवाएर पनि ठगी धन्दा चलाउने गरेका छन् । नाम नबताउने सर्तमा एक जना टुरिष्ट गाइड भन्छन् ‘त्यहाँ पुग्दा मलाई नै कतिपटक त तान्ने हो भनेर सोधेको छ । गेष्टले तान्छ कि सोधिदिनुन भनेर भन्छन् ।’ तिनीहरुले एक खिली चुरोटको पनि हजार रुपैयाँ भन्दा बढि लिने गरेको ती टुरिष्ट गाइडको भनाइ छ ।

ठमेल क्षेत्रः
पर्यटकीय केन्द्र ठमेलमा कुनै न कुनै रुप र रंगमा पर्यटकमाथि ठगी धन्दा हुने गरेको पाइएको छ । यहाँ पनि हकर तथा झोले व्यापारीहरु सक्रिय छन् । उनीहरुले सामान बेच्नको लागि पर्यटकलाई हदैसम्मको दुःख दिन्छन् । उनीहरुले जबरजस्ती चर्को मूल्यमा सामान किनाउने गर्छन् । सडक बालबालिकाको समस्या पनि यहाँको ठूलो समस्या हो । त्यत्तिमात्रै होइन यहाँ खुलेआम यौनधन्दा पनि चलिरहेको पाइन्छ । ठमेलको गल्ली अनि चोक चोकमा केटी मिलाइदिने एजेन्टहरु पनि सक्रिय छन् । त्यस्तो काममा ट्याक्सी तथा रिक्सा चालकहरु सक्रिय छन् । त्यस्तै पर्यटकलाई सस्तो होटल मिलाइदिने भनेर ठग्नेहरु पनि यहाँ प्रशस्तै भेटिन्छन् । मिठो बोली बोलेर ललाइफकाई गरी पर्यटकलाई आफूले चिनेको र सम्बन्ध भएकाहरु होटलमा पु¥याइदिने र त्यसबापत कमिसन लिने गर्छन् ।  

लुम्बिनीः
धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनीमा पनि पर्यटकलाई विभिन्न नाममा ठग्ने काम गरिन्छ । यहाँ अरुभन्दा पनि रिक्सावालाहरु हाबी हुने गर्छन् । यहाँ रिक्सावालहरुको पूरै सिन्डिकेट छ । रिक्सावालाहरुले संगठित रुपमा त्यस्ता काम गर्ने गर्छन् । उनीहरुले विभिन्न बाहानामा चर्को मूल्यमा रिक्सामा चढाउने गर्छन् ।  

यो त प्रतिनिधि घटनामात्रै हो । यहाँ पर्यटकलाई विभिन्न तरिकाले सास्ती दिने गरेका छन् । यी यस्तै कारणले मुलुकको पर्यटनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यी समस्याहरुको दीर्घकालिन समाधानका लागि समबन्धित निकायले कस्तो भूमिका खेलेको छ ? यो जनजनको प्रश्न हो ।

तपाईंको बिचार