Wednesday, August 23, 2017

चितवन आउने पर्यटकको सख्यमा ५१ प्रतिशतले कमि

प्रकाशित मिति: 2016/07/28

साउन १३, चितवन । भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा गत वर्षभन्दा ५१ प्रतिशतले घटेको छ । 
गत आवमा ८७ हजार ३९१ पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका छन् । नेपाली पर्यटक ३० हजार ५९२, दक्षिण एसियाली मुलुकका ६ हजार ६०६ र अन्य मुलुकका ५० हजार १९३ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । अघिल्लो आव २०७१÷७२ मा एक लाख ७८ हजार २५७ पर्यटक निकुञ्ज भित्रिएका थिए ।

अघिल्लो आवमा नेपाली ३५ हजार ९२९, दक्षिण एसियाली मुलुकका १४ हजार ६८९ र अन्य मुलुकका एक लाख २७ हजार ६३९ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७१÷७२ मा भन्दा आव २०७२÷७३ मा ९० हजार १६६ कम पर्यटक भित्रिएका निकुञ्जका रेञ्जर ऋषि ढकालले जानकारी दिए ।

पर्यटक घटेसँगै राजस्वमा समेत गिरावट आएको छ । गत आवमा रु ११ करोड ६७ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो भने अघिल्लो आवमा २४ करोड ६२ लाख ३७ हजार राजश्व सङ्कलन भएको थियो । पर्यटकले हात्ती चढ्ने, जिप सफारी, पैदल यात्रा, डुङ्गा यात्रालगायतबाट निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गर्ने गर्दछन् ।

यस्तै निकुञ्जको सुनाचुरी, खगेन्द्रमल्ली, सौराहा, घडगाई, कसरा, वनकट्टा, भिम्ले, लौखानी, अमलटारी र खुजौलीबाट पर्यटकले निकुञ्ज प्रवेश गर्ने गरेका छन् । निकुञ्जमा हात्ती चढेर गैंडा, बाघलगायतका दुर्लभ जनावर हेर्न, सङ्कटापन्न घडीयाल गोहीको अवलोकन गर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

 

तपाईंको बिचार