Wednesday, April 26, 2017  |    

नन स्मोकिङ जोन बनाउनुपर्ने माग गर्दै ठमेलमा र्‍याली

प्रकाशित मिति: 2016/08/22

काठमाडौं । मुख्य पर्यटकीय नगरी ठमेललाई नन स्मोकिङ जोन बनाउनुपर्ने माग गर्दै बृहत र्‍याली निकालिएको छ । लाइन्स क्लब अफ काठमाडौं सनराईजले ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो ।

लाँखे नाँचसहित सञ्चालन गरिएको बृहत र्‍याली ठमेलको सञ्चयकोषबाट सुरु भएर ज्याठा, ठहिटी, चाक्सिबारी, काठमाडौं गेष्टहाउस, सातघुम्ति, होटल वैशाली, भगवतीबहाल, नर्सिङचोक हुँदै पुनः सञ्चयकोषअगाडि आइपुगेर समापन गरिएको थियो ।  

र्‍याली हुनुभन्दा अगाडि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै लाइन्स क्लबका सेकेन्ड डिस्ट्रिक गर्भनर लाइन सुदर्शन धर प्रधानाङ्गले धुम्रपान स्वास्थ्यको लागि हानिकारक भएकोले यसलाई पूर्ण रुपमा निर्मुल पार्न आजैबाट र आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । यसलाई आगामी दिनमा निरन्तरता दिदै थप व्यवस्थित र व्यापाक बनाउँदै लैजानुपर्नेमा उहाँको जोड रहेको थियो । त्यस्तै महानगरी प्रहरी बृत्त, दरबारमार्गका डिएसपी कृष्ण बहादुर पल्ली मगरले ठमेल नेपालको मुख्य पर्यटकीय केन्द्र भएकोले ‘नन स्मोकिङ जोन’ अभियानको कार्यान्वयन यहीबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरका प्रमुख शान्तलाल मुल्मीले लाइन्स क्लब अफ काठमाडौं सनराईजले सुरुवात गरेको धुम्रपान सम्बन्धि जनचेतना अत्यान्त समयसान्दर्भिक कार्यक्रम भएको उल्लेख गर्दै यसमा राज्यस्तरबाट र सम्बन्धित निकायहरुबाट साथ सहयोग हुनुपर्ने बताउनुभयो ।

जनस्वस्थ्य प्रशासक प्रमुख भोगेन्द्र डोटेलले जनस्वस्थ्य सम्बन्धित जनचेतनामूलक कार्यक्रम विगतदेखि नै हुँदै आएपनि यसलाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याउन नसकिरहेको बताउँदै आगामी दिनमा यस्तै कार्यक्रमहरुमार्फत सबैमा जनचेतना जगाएर यसलाई निर्मुल पार्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रम आयोजकको प्रंसशा गर्दै यसलाई निरन्तरता दिनको लागि राज्यस्तरबाट गर्नुपर्ने हर प्रकारको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले ठमेल क्षेत्रलाई पूर्ण रुपमा नन स्मोकिङ जोन बनाउनुपर्ने आवश्यकता औल्याउँदै त्यसको लागि सबै घरधनी, स्थानीय संघसंस्था, व्यवसायी तथा सम्बन्धित सरोकारवाला निकायहरु एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । त्यसको लागि ठमेल पर्यटन विकास परिषदको तर्फबाट खेल्नुपर्ने हरेक प्रकारको भूमिका खेल्न आफुहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।

लाइन्स क्लब अफ काठमाडौं सनराईजका अध्यक्ष सुदिप प्रधानले आफ्नो स्थापनाकालदेखि नै संस्थाले यस्ता गतिविधिहरु सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै धुम्रपानसम्बन्धित जनचेतनामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने र थप कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा धुम्रपान त्यागौका अभियन्ता शंकरमोहन प्रधानले आफ्नो जीवनकालमा आफैले भोगेका कथाहरु सुनाउनुभएको थियो । कार्यक्रममा संस्थाका सचिव लिलानन्द उपाध्यक्षले धन्यवादज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सयौंको सहभागिता रहेको थियो ।

तपाईंको बिचार